जापानिज इन्सेफ्लाइटिसबाट बालकको मृत्यु

japanig insaflitis

लहान, ७ भदौ – जापानिज इन्सेफ्लाइटिसबाट सप्तरीका एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका–९ बस्ने चन्द्रनारायण देवका १२ वर्षीय छोरा यमन रहेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा उनको आइतबार मृत्यु भएको थियो । जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको खबरले अहिले राजविराजमा त्रास फैलिएको छ ।

ज्वरो आउने, टाउको दुख्ने र बेहोस हुने समस्याले थलिएर साउन १५ गते राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएका बालक यमनको त्यहाँ उपचार सम्भव नभएपछि साउन २० गते विराटनगरस्थित लाइफ गार्ड अस्पताल हुँदै साउन २१ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा बालकको मृत्यु भएपछि जनस्वास्थ्य कार्यालयले नै प्रतिष्ठानमा सम्पर्क गरी मृत्युको कारण पत्ता लगाउँदा त्यहाँवाट जापानिज इन्सेफ्लाइटिसका कारण उनको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय झाले जानकारी दिए।

प्रतिष्ठानबाट उक्त सूचना प्राप्त भएलगत्तै आजै सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको संयोजनमा राजनीतिक दल, कार्यालय प्रमुख तथा सरोकारवाला निकायको आपत्कालीन बैठक बसेर रोग फैलन नदिन खोप लगाउने, सुँगुरलगायतका छाडा पशुचौपाया नियन्त्रण गर्ने, सर्वसाधारणलाई सो विषयमा सचेत गराउने र रोग अन्य क्षेत्रमा फैलिए÷नफैलिएको विषयमा जानकारी लिने निर्णय गरेको प्रमुख झाले जानकारी दिए ।

सुँगुर, बङ्गुर, हाँसलगायतका पशुपक्षीमा पाइने भाइरस लामखुट्टेका माध्यमबाट मानिसमा सर्ने गरेकाले रोगको सङ्क्रमण तुरुन्तै फैलिन सक्ने भएकाले सर्वसाधारण त्रसित बनेका छन् ।

वर्षौंदेखि राजविराजलगायतका विभिन्न क्षेत्रमा लामखुट्टे मार्ने औषधि नछर्किएको, सदरमुकाम राजविराजमै छाडा सुँगुरको बिगबिगी रहेको लगायतका कारण यो महामारीको रुप लिन सक्ने स्थानीयको भनाइ छ ।

प्रजिअ गौतमले सुँगुरबाट मुख्यरुपमा जापानि इन्सेफ्लाइटिसको भाइरस सर्ने भएकाले सुँगुर नियन्त्रणका लागि अभियान सञ्चालन गर्नुपर्ने बताए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *