रोल्पामा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या ६० पुग्यो

hiv

रोल्पा, ६ भदौ –  रोल्पा जिल्लामा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या हालसम्म ६० पुगेको रोल्पा प्लस सामुदायिक हेरचाह केन्द्रका अध्यक्ष राधा विकले जानकारी दिए।

उनका अनुसार हाल जिल्लामा एचआइभी एड्स सङ्क्रमित पुरुष २७, महिला २८, बालबालिका पाँच गरी सङ्क्रमितको सङ्ख्या ६० जना पुगेको हो । तीमध्ये आठ महिला र तीन जना पुरुषको यसअघि नै मृत्यु भइसकेको छ ।

विकका अनुसार जिल्लामा २२ देखि ६२ वर्ष उमेर समूहका पुरुष तथा महिलामा एचआइभीको सङ्क्रमण देखिएको छ भने आठदेखि १४ वर्षसम्मका बालबालिकामा एचआइभीको सङ्क्रमण देखिएको छ । यसरी सङ्क्रमित पाँच बालबालिकामध्ये चार बालिका र एकजना बालक रहेका छन् । यी बालबालिका सङ्क्रमित बाबुआमाबाट जन्मेको हुँदा जन्मदेखि नै एचआइभी एड्स सङ्क्रमणको सिकार बन्नुपरेको हो ।

रोजगारीका कारण खाडी मुलुक पुगेका श्रीमान्हरु स्वदेश फर्कंदा सङ्क्रमित भएर फर्कने र घरमा श्रीमतीलाई यस विषयमा कुनै पनि जानकारी नदिने भएका कारण श्रीमतीहरु सङ्क्रमित भएर जीवन जिउन बाध्य भएको एचआइभी एड्सबाट सङ्क्रमित भएका महिलाको गुनासो छ ।

रोल्पा प्लसले जिल्लामा सङ्क्रमितको स्वास्थ्यसम्बन्धी परामर्श तथा आवश्यक औषधि उपचार दिँदै आएको भए तापनि यस आवमा भने संस्थामा कुनै किसिमको कार्यक्रम सञ्चालनमा नभएको हुुँदा सङ्क्रमित चिन्तित भएका छन् । “हामीले कार्यक्रम सञ्चालनका लागि सभामुखसँग उनीलगायत प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री कृष्णबहादुर महरासमक्ष ज्ञापनपत्र बुझाएका छौँ उनीहरुले केही पहल गर्छन् कि भन्ने आशा छ” – रोल्पा प्लसका सदस्य दामे विकले भने ।

संस्थामा हाल कुनै किसिमको कार्यक्रम सञ्चालन नहुँदा जिल्लाको दूर दराजबाट उपचारका लागि सदरमुकामसम्म आएका सङ्क्रमितलाई खाना खान र बास बस्नसमेत असहज हुने गरेको उनीहरुको गुनासो छ ।

सुरु सुरुमा आफू सङ्क्रमित भएको कुरा खोल्न नचाहनेहरु पनि पछिल्ला दिनमा खुलेर औषधि उपचारका लागि सदरमुकाम आउने गरेको सरोकारवालाहरुले बताए ।

केही वर्ष पहिले एचआइभी एड्स सङ्क्रमितलाई समाजले छी छी र दुर्दुर गथ्र्यो तर अहिले हामी पनि अन्य मानिससरह सरल जीवन बाँचिरहेका छौँ – अध्यक्ष विकले भने। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *