उपत्यकामा रुघाखोकी र ज्वरोका बिरामी बढे

rugha

काठमाडौँ, १६ साउन –  उपत्यकामा वर्षायाम सुरु भएसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । टेकु अस्पतालमा अहिले रुघाखोकी र ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुुर पुनले बताए ।

अस्पतालमा दैनिक १० जनाभन्दा बढी ज्वरोको समस्या लिएर आउने गरेको डा पुनले जानकारी दिए । उनले भने, “यो वर्ष इन्फ्लुएन्जा बी युवामा कडारुपमा देखिएको छ । साधारणतया बी नरम हुनुपर्ने भएपनि अहिले यसले कडारुपमा युवालाई प्रभावित पारेको देखिएको छ ।”

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले बिरामीले समयमै होसियारी नअपनाए यो समयमा भाइरल ज्वरोले सताउने बताए । कामज्वरो आउने, जाडो हुने, घाँटी दुख्ने, सुक्खा खोकी लाग्ने, जोर्नी दुख्ने र कहिलेकाहिँ वाकवाक लाग्नेजस्ता समस्या लिएर बिरामी अस्पताल आउने गरेको र रगत परीक्षण गर्दा इन्फ्लुएन्जा बी पाइएको पुनको भनाइ छ ।

निर्देशक डा. मरासिनीका अनुसार वर्षा लागेपछि हिलो र पानी जम्ने भएकाले यो समयमा सरुवा रोगको सङ्क्रमण बढी देखिने बताए । उनले यसबाट बच्न भीडभाडमा नजाने, बाहिरबाट घर पुगेपछि साबुनपानीले हात धुने, सफा उमालेको पानी र सफा ताजा खानेकुरा खाने सल्लाह दिए । ज्वरो बढ्दै गएमा तुरुन्त अस्पतालमा गई जाँच गराउनुपर्ने उनले बताए । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *