नियम नटेर्ने सुर्ती उद्योगीलाई भएन कारबाही

tba

पत्रिका – आन्तरिक राजस्व विभागले ९० प्रतिशत चेतावनीमूलक चित्रात्मक स्वास्थ्य सन्देश नराखेका सुर्तीजन्य पदार्थलाई कारबाहीको साटो धमाधम अन्त:शुल्क स्टिकर उपलब्ध गराएको छ । नियम मिच्ने उद्योगीलाई कारबाही गर्न लिखित उजुरी चाहिने भन्दै उसले त्यस्तो उजुरी नपरेको जनाएको छ ।

आन्तरिक राजस्व विभाग अन्त:शुल्क महाशाखाले २ जेठपछि बजारमा आएका सबै सुर्तीजन्य पदार्थमा ९० प्रतिशत चेतावनीमूलक चित्रात्मक स्वास्थ्य सन्देश हुनैपर्ने दोहोर्‍याएको छ । तर, नेपालका सुर्ती उद्योगहरूले नियम कार्यान्वयन हुनुपर्ने समय घर्केको सात महिना पुगिसक्दासमेत अटेरी गर्दै आएका छन् । उनीहरूको अटेरीलाई आन्तरिक राजस्वले समेत मौन स्वीकृति जनाएको छ ।

सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न १३ पुस ०७१ मा स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका ०६८ को दफा ९ कलाई संशोधन गरेको थियो । संशोधित निर्देशिकाअनुसार सुर्तीजन्य पदार्थको प्याकेट तथा र्‍यापर्सको कुल भागमध्ये ९० प्रतिशत भागमा चेतावनीमूलक चित्रांकित स्वास्थ्य सन्देश हुनुपर्छ । तर, अहिले पनि नेपाली उत्पादकले ७५ प्रतिशत मात्र राख्दै आएका छन् ।

आफू अनुगमन गर्न जान नभ्याएको भन्दै अन्त:शुल्क महाशाखाले कसैले लिखित उजुरी दिएमा नियमअनुसार कारबाही गर्न सकिने बताएको छ । अन्त:शुल्क अधिकृत ईश्वर कोइरालाले मापदण्डविपरीत वस्तुको बारेमा कतैबाट उजुरी आए कारबाही गर्न सकिने बताए ।

‘अहिलेसम्म कसैले उजुरी गरेको छैन । हामीले मापदण्डअनुसार नै बजारमा आएको होला भन्ने ठानेका छौँ, तर उजुरी आयो भने हामी तत्काल अनुगमन गर्छौं र कारबाहीको दायरामा ल्याउँछौँ ।’

  • आजको नयाँ पत्रिका दैनिकमा रामप्रसाद न्यौपानेले लेखेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *