फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

सिड्नी, १ असोज । फिजीमा एचआइभी सङ्क्रमण तीव्ररूपमा बढेपछि सरकारले राष्ट्रिय एचआइभी सङ्कट घोषणा गरेको छ ।
सरकारका अनुसार असुरक्षित यौन सम्पर्क र सुईमार्फत लागूऔषध प्रयोग गर्दा एचआइभी सङ्क्रमण फैलिने क्रम बढेको छ । त्यसलाई नियन्त्रण गर्न सरकारले तत्काल समन्वित कदम चाल्ने जनाएको छ ।
स्वास्थ्य मन्त्री एटोनियो लालाबालुले महामारीको गम्भीरता र तत्काल आवश्यक प्रतिक्रियालाई ध्यानमा राखेर राष्ट्रिय एचआइभी आपत्काल घोषणा गरिएको बताए ।
उनका अनुसार सन् २०२५ मा दुई हजार १६ नयाँ एचआइभी सङ्क्रमित पहिचान भएका थिए । यो आँकडा सन् २०१९ को तुलनामा १६ गुणा बढी हो ।
सरकारका अनुसार अहिले फिजीमा करिब ६० वयस्कमध्ये एक जनामा एचआइभी सङ्क्रमण रहेको अनुमान छ ।
पाँच वर्षअघि यो अनुपात १६७ जनामा एक थियो । प्रत्येक एक सय गर्भवती मध्ये दुई जनामा एचआइभी सङ्क्रमण देखिएको थियो ।
सन् २०२५ मा एचआइभी सङ्क्रमणसहित जन्मिएका ५९ शिशुमध्ये १८ जनाको एक वर्षको उमेर नपुग्दै मृत्यु भएको सरकारले जनाएको छ ।
सरकारले निः शुल्क एचआइभी परीक्षण, रोकथाम र उपचार सेवा विस्तार गरिरहेको छ । उच्च जोखिममा रहेका व्यक्तिका लागि रोकथाम औषधि, लागूऔषध सुईमार्फत प्रयोग गर्नेका लागि हानि न्यूनीकरण कार्यक्रम तथा सङ्क्रमितका लागि निःशुल्क उपचार उपलब्ध गराइने बताइएको छ ।
यसका लागि अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत, ग्लोबल फन्ड र संयुक्त राष्ट्रसङ्घबाट सहयोग प्राप्त भइरहेको छ ।
युएनएड्सका अनुसार सङ्क्रमणको माध्यम पहिचान भएका मामिलामध्ये आधाभन्दा बढी यौन सम्पर्कसँग र ४२ प्रतिशतभन्दा बढी सुईमार्फत लागुऔषध प्रयोगसँग सम्बन्धित छन् । संस्थाले फिजीले सुई तथा सिरिन्ज कार्यक्रमका लागि कानूनी व्यवस्था गर्न लागेकोमा स्वागत गरेको छ ।
एसिया तथा प्रशान्त क्षेत्रका लागि युएनएड्सका निर्देशक इमोन मर्फीले फिजीसँग महामारीको दिशा परिवर्तन गर्ने अवसर अझै रहेको बताए । उनले अन्तर्राष्ट्रिय सहयोगले फिजीको राष्ट्रिय प्रयासलाई थप प्रभावकारी बनाउन सक्ने बताए ।
फिजीलगायत प्रशान्त टापु एसिया र ल्याटिन अमेरिकाबाट अस्ट्रेलिया तथा न्युजिल्यान्डतर्फ लैजाने लागूऔषधको पारवहन केन्द्रका रूपमा प्रयोग हुँदै आएका छन् ।
कोभिड-१९ महामारीपछि मेथाम्फेटामाइन र कोकिनजस्ता लागूऔषधको प्रवाह बढेको र विदेशी आपराधिक समूहले स्थानीय सहयोगीलाई पारिश्रमिकका रूपमा लागूऔषध दिने क्रमले स्थानीय बजारमा समेत यसको पहुँच बढाएको बताइएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



