गरौं रक्तदान, हुन्छ जीवनदान !
- अच्युत शाली घिमिरे
छोडी अन्धविश्वास, सम्पूर्णमा प्रेमभाव राखौं
स्वास्थ्यमा हुन्छ फाइदा यो कुरा जानौं
ओइलिएका फूलहरुमा मानवताको सास भरौं
यो धर्तिमा पूण्य कमाउन रक्तदान गरौं।
रक्तदानले शरीरमा आइरन सन्तुलित राख्छ
हृदयघात हुने खतरा टाढा टाढा भाग्छ
शरीर स्वस्थ राखी, नयाँ रक्तकोशिका बन्छ
शरीर फिट हुने गरि मोटोपना घट्छ।
जब रगतको अभावमा बिरामीहरु वियोगिन्छन्
अनि कठै ! हृदयको सागरबाट वेदनाहरु पोखिन्छन्
यही दिव्य करुणामा आउनुस् ! एउटा साहस भरौं
रगतले प्राण बचाउने एउटा जादु गरौं।
रक्तदान कै मेसो पारी रोगहरु परिक्षण नि हुन्छ
रक्तदान कै मद्दतले विषाक्त पदार्थ बाहिर जान्छ
जीवन संसार दुःख सुख जे जे सक्छौ भरौं
बिचरा ! हामी मानिस,अहंकार नगरि रक्तदान गरौं।
के हो धर्म ? के हो सत्य ? जननीको हृदयबाट निस्कने
यही हो श्रेष्ठ,यही हो श्रद्धा, मानवतामा गासिने
को हुन् ईश्वररुको हुन् भगवान ? के को खिंचातानी ?
रक्तदान गरी आजै बनौं महान दानी।
लोभ काम क्रोध ईर्ष्यामा मान्छे किन बाचेको छ ?
मरि लानु के नै छ र ? के लाई आखिर साचेको छ ?
रोगीको जिन्दगीमा अलिकति सहानुभूति भरौं
जवाफदेही भई यो चोलामा, आउनुहोस् ! रक्तदान गरौं।।
#घिमिरे त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)मा अध्ययनरत छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com