‘नआउनुस् भो हामीसंग जँचाउन’

डा. तोसीमा कार्की

लापरवाह !!
ज्यानमारा !!
ठग ! लुटेरा !!
यहि अग्रिम सोचका साथ,
खै किन आउनुहुन्छ जँचाउन ??
यहि पूर्वाग्रही मुल्याङ्कनका साथ,
खै किन आउनुहुन्छ देखाउन ??

हामी त लुटेरा हौँ नि !
हामी त ठग हौँ नि !
अरे हामी त हत्यारा पो हौँ नि !!
फेरि हामी सँगै किन आउनुहुन्छ दु:ख सुनाउन,
हामी सँगै किन आउनुहुन्छ दुखाई मेटाउन ??

गलत औषधि !
गलत उपचार !
गलत टेस्ट !!
हामी त मान्छे नै गलत !
हामीले दिने उपचार नै गलत !!
विज्ञ तपाईं आँफै हुनुहुन्छ,
सहि गलत तपाईं आफैँ बुझ्नुहुन्छ,
त हामी ठग काहाँ फेरि किन आउनुहुन्छ ??

आफ्नो स्वास्थ्य,
आफ्नो शरीर,
आफ्नो ज्यान,
आफ्नो जीवन,
हातमा हाम्रो किन दिनुहुन्छ ?
सिपमा हाम्रो किन सुम्पनुहुन्छ ??

बिन्ती छ,

शंकै शंका लिएर,
पूर्वाग्रहि सोच लिएर,
नआउनुस् भो,
हामीसँग जँचाउन !!
थोरै पनि विश्वास लाग्दैन भने,
कर काहाँ छ र तपाईँलाई हाम्रो उपचार लिने,
कर काहाँ छ र हामीलाई पनि उपचार दिने !!

७.८ रेक्टरको भुकम्पले देश ढलायो !
हजारौँ हजार जीवन अकालमै उडायो !!
देश काम्यो ! देशवासीको मुटु काम्यो !!
तर पनि कामेनन् हाम्रा हात !!
छाडेनौ हामीले तपाईँहरुको साथ !!
हर साल बाढीले तराई डुबाउँने हाम्रो देश,
हर साल पहिरोका पहाडले पुरिने हाम्रो बेँस !!
पानी झरि, बर्खा होस् या खडेरी ,
हर मौसममा औषधी मुलो बोकी,
हर कुना कन्दरा पुग्ने हामी डाक्टर !!
तर कति सहजै आज,
अपराधी कहलिएको छौँ !!
७.८ रेक्टरले नकाँपेका हात आज,
उपशंकाको पहाडले कमाउँदैछ,
भुकम्पले नढालेको विश्वास,
आज हेर कठै राज्यले नै ढलाउँदैछ !!
हो  हामी त,
लापरवाही चिकित्सक,
स्वार्थी हामी लोभी, पापी चिकित्सक,
यहि सोच्नुहुन्छ भने,
भो नआउनुस् हामी सँग जँचाउन !
बरु, पेशा नै त्यागिदिन्छौ हामी,
तर सक्दैनौँ यो घृणा, यो शंका पचाउन !!

अँ त,
देशको साह्रै ठूलो चिन्ता भएको,
नेपाली डाक्टर सबै ठग सोच्ने,
उपचारका लागि सधैँ विदेश पुग्ने,
तपाईँहरुकै हितको लागि कानुन बनाउने,
तपाईँहरु सबैको रोग निको पार्ने,
गरिबी, अशिक्षा, अस्वस्थता सबै निर्मूल पार्ने,
सायद त्यहिँ छन् विद्वानहरु !!
सिहँदरवारमा !!
हुन्छ, हाल्नुस् हामीलाई जेल !!
अनि जानुस् जँचाउन त्यहि ,
सिंहदरबारमा !!

तिनै नेतागण जसले,
जनताको स्वास्थ्यलाई भाँडाकुटी सम्झेका छन् !!
तिनै विज्ञहरु जसले,
देशलाई नै बिरामी पारेका छन् !!
देशलाई नै अस्वस्थ पारेका छन् !!

हो त !
अब डाक्टर किन चाहियो र यो देशमा ?
अब डाक्टर किन चाहियो र यो देशमा ??
जब लापरवाही देख्ने स्वास्थ्य विज्ञहरु,
छन् जता ततै !!
टोल टोलमा !!
भिड भिडमा !!
जनताका आँखाहरुमा !!
संसदका कुर्सीहरुमा !!
सिंहदरबारका कोठाहरुमा !!
अनि कानुनका कलमहरुमा !!!!

#मुलुकि_एेन !

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “‘नआउनुस् भो हामीसंग जँचाउन’

  1. दाइने खुट्टो को सट्टा देब्रे अप्रेशन टाउको दुख्दा जीब्रो अप्रेशन पेटमै औजार राखेर सीलाई दीने डा. साव को लागी हो कानुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *