कर्णालीका साढे ६ हजार जनताको भागमा एक डाक्टर

काठमाडौँ, २४ चैत ।  कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव छ । कर्णालीमा कार्यरत एक चिकित्सकको भागमा ६ हजार सात सय १० जनाको स्वास्थ्यको जिम्मा छ ।

कर्णालीका १० जिल्लामा १५ वटा जिल्ला अस्पताल र १३ प्राथमिक स्वास्थ्य केन्द्रमा कुल २६४ चिकित्सक कार्यरत छन् । १० जिल्लाको जनसंख्या भने १७ लाख ७१ हजार ६ सय ४० छ ।

त्यसो त कर्णालीका अधिकांश जिल्ला अस्पतालमा चिकित्सक नै भेटिँदैनन् । दरबन्दीअनुसार सरुवा नहुने र भएका पनि काजमा सुविधायुक्त क्षेत्रमा जाने समस्या छ । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा एकजना चिकित्सकले ६ हजार सात सय १० जनालाई स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेछ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार १० हजार जनसंख्यालाई कम्तीमा तीनजना चिकित्सक चाहिन्छ । यो मापदण्डअनुसार १७ लाख ७१ हजार ६४० जनसख्ंयाका लागि ५१८ जना चिकित्सक आवश्यक पर्छ । तर, अहिले मापदण्डभन्दा २५४ चिकित्सक कम छन् । हालै सामाजिक विकास मन्त्रालयले तयार पारेको तथ्यांकअनुसार स्वास्थ्य चौकी ३३६, प्रसूति केन्द्र २७४ र एम्बुलेन्स ३२ वटा छन् ।

बिरामीलाई अस्पताल लैजानै समस्या
कर्णाली प्रदेशका बिरामीलाई उपचारका लागि अस्पतालसम्म पुर्‍याउनै समस्या हुन्छ । अझ हुम्ला, मुगु, डोल्पाका बिरामीलाई सुुविधासम्पन्न अस्पताल पुर्‍याउन त जहाजको विकल्प छैन । तर, जहाजको उडान नियमित हुँदैन ।

क्षेत्रीय अस्पताल सुर्खेतका डा. रवीन खड्काका अनुसार हुम्लाको बिरामीलाई सुर्खेत वा नेपालगन्ज उपचार गर्न ल्याउन मात्रै कम्तीमा एक लाख रुपैयाँ खर्चिनुपर्छ । ‘जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी हुँदा दुई-तीन हजारमा उपचार हुने बिरामीलाई नेपालगन्ज वा सुर्खेत ल्याएर उपचार गर्दा बिरामी र कुरुवासमेतको खर्च कम्तीमा एक लाख पर्न आउँछ,’ उनले भने।

कर्णालीको स्वास्थ्य
अस्पताल : १५
प्राथमिक स्वास्थ्य केन्द्र : १३
स्वास्थ्य चौकी : ३३६
प्रसूति केन्द्र : २७४
एम्बुलेन्स : ३२

स्वास्थ्य जनशक्ति
चिकित्सक : २६४
नर्सिङ : १३७५
दक्ष प्रसूति जनशक्ति : ३४७
अन्य स्वास्थ्यकर्मी : ४५९

स्वास्थ्य अवस्था
कुल प्रजननदर : २.२ %
कुपोषित महिला : १५.२ %
संस्थागत प्रसूति : ५७ %
जम्मा स्वास्थ्यकर्मी : ४,७१७
जम्मा जनसंख्या : १७,७१,६४०

सिंहदरबारले केही गरेन, अब हामी गर्छौँ : दल रावल, सामाजिक विकासमन्त्री 

सिंहदरबारको स्वास्थ्य र शिक्षा नीतिले कर्णालीमा काम गरेन । अब कर्णालीमा प्रदेशस्तरको मेडिकल कलेज सञ्चालन गर्ने, हरेक जिल्लामा ५० शैया र निर्वाचन क्षेत्रमा १५ देखि २५ शैयाको अस्पताल बनाउने योजना छ । यी अस्पतालमा विशेषज्ञसहितका चिकित्सक हुनेछन् ।

  • आजको नयाँ पत्रिकामा योगेश ढकालको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *