बार्तामा आएका प्रहरी प्रतिनिधिसंग डाक्टरहरुले राखे तीन बुँदे माग
चौविस घण्टा भित्र दोशी माथि कारवाही नभए आन्दोलन : चिकित्सक संघ
काठमाडौँ, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी हुने बेलामा सडक सुरक्षार्थ खटिएका प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक जना डाक्टर कुटेपछि घटनाले गम्भीर रुप लिएको छ ।
ट्रमा तथा वीर अस्पतालमा कार्यरत चिकित्सकहरुले केही माग तेस्र्याउदै पुरा नभए सेवा बहिस्कार सम्मका आन्दोलन गर्ने चेतावनी दिएका छन् । यता नेपाल चिकित्सक संघले माग पुरा गर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।
सवारी सुरक्षाका लागि भन्दै बसेको प्रहरीले डाक्टर जनिथलाल सिंहमाथि लाठी प्रहार गरेको थियो ।
प्रहरीसंगको बार्तामा बसेका ट्रमा सेन्टरका पूर्व प्रमुख डा सन्तोष पौडेलले प्रहरी समक्ष आफूहरुले तीनवटा कुरा मुख्य रुपमा राखेको बताए ।
‘पहिलो माग आजको घटनाको विषयमा प्रहरीको नेतृत्व तहबाटै सार्वजनिक रुपमा क्षमा माग्नु पर्ने । दोस्रोमा कुटपिटमा सम्लग्न प्रहरीमाथि हदैसम्मको कारवाही हुनु पर्ने । तेस्रो मागमा कुटपिटमा सम्लग्न चिकित्सकलाई जेलविद आउट बेल कानून अनुसार तत्काल नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया हुनुपर्छ भन्ने हो,’ डा पौडेलले भने ।
बार्ता गर्न पुगेका काठमाडौँ प्रहरी प्रमुख दानबहादुर कार्कीले चिकित्सकहरुले उठाएका माग सकारात्मक भन्दै सम्वोधनका लागि माथिल्लो तहमा पुरयाईदिने बताए । उनले आफू जिल्लाको प्रहरी प्रमुखको हैसियतले माफि मागेको समेत बताएको थिए । ‘यस्तो हुनै नहुने घटना भएपछि हामी एकदम लज्जित छौँ । घटनाको बारेमा हामी माफी चाहन्छौँ । अरु कुराहरु निवेदन र जाहेरी परेपछि अघि बढउने छौँ,’ काठमाडौँ प्रहरी प्रमुख कार्कीले भनेका थिए ।
डा पौडेलले घटना पछि आक्रोसित डाक्टरहरुले अस्पताल अगाडीको बाटोमा निस्केर प्रदर्शन गर्दा थप एक जना डाक्टर समेत गम्भीर घाइते भएको बताए ।
सम्पर्क इमेल : [email protected]