‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ का लागि आवेदन आव्हान
काठमाडौँ, ४ माघ । राधा क्यान्सर सचेतना फाउण्डेशनले ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ को तेस्रो संस्करणका लागि आवेदन आव्हान गरेको छ ।
क्यान्सरका बारेमा चेतना जगाउन र महिला हिंसा विरुद्ध आवाज उठाउन प्रेरित गर्ने पत्रकारलाई पुरस्कृत गर्न आवेदन आव्हान गरेको हो ।
फाउन्डेशनका अध्यक्ष प्रकाश बस्यालले विगतका बर्ष जस्तै यो बर्षपनि क्यान्सरका बारेमा चेतना जगाउन र महिला हिंसा विरुद्ध आवाज उठाउन प्रेरित गर्न सक्रिय एक जना सञ्चारकर्मीलाई पुरस्कृत गर्न लागिएको बताए ।
पत्रकार एवं क्यान्सर रोगविरुद्धकी अभियन्ता स्वर्गीय राधा बस्यालको स्मृतिमा स्थापना भएको फाउन्डेशनले हरेक बर्ष एक जना पत्रकारलाई सम्मान गर्दै आएको छ । पुरस्कारको राशी २० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ ।
उक्त पुरस्कार आगामी ९ फागुनका दिन स्वर्गीय पत्रकार एवं अभियन्ता राधा बस्यालको जन्म जयन्तीको दिन कावासोती नवलपुरबाट वितरण गरिने फाउन्डेशनले बताएको छ ।
पुरस्कार प्रतिस्पर्धामा भाग लिन के गर्ने ?
देशैभरका पत्रकारले यस वर्षको वैशाखदेखि पुस मसान्तसम्म प्रकाशन/प्रशारण गरेका क्यान्सर सचेतना र हिंसाविरुद्धका तीनवटा (क्यान्सर सम्बन्धी कम्तीमा एक) लेख तथा समाचार फागुन ४ गतेभित्र फाउन्डेशनको इमेलमा पठाउनु पर्ने छ । ती समाचारहरुमध्ये उत्कृष्ठताको आधारमा एक जना पत्रकारलाई पुरस्कृत गरिने जनाइएको छ ।
कावासोतीमा आयोजित फाउण्डेशनको कार्यक्रममा अध्यक्ष बस्यालले हरेक वर्ष फागुन ९ अर्थात् स्वर्गिय पत्रकार राधा बस्यालको जन्म जयन्तीको दिन नवलपुरबाटै ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ वितरण गरिने जानकारी दिए ।
को हुन् स्वर्गीय राधा बस्याल ?
‘१० वर्षदेखि सक्रिय पत्रकारितामा रहनुभएकी बस्याल विवाह पश्चात घरेलु हिंसाको शिकार हुनुप¥यो तर पनि निरन्तर हिंसाका विरुद्धमा र न्यायको पक्षमा लडिरहनुभयो फाउण्डेशनका अध्यक्ष बस्यालले भने ,‘रोग र हिंसाबाट शिकार हुँदा पनि बस्यालको पत्रकारिताको यात्रा रोक्नुभएन , बरु त्यस कठिन घडीमा पनि महिला हिंसाविरुद्ध र स्तन क्यान्सरबारेको सचेतना जगाउँदै गाउँ गाउँ र बस्तीहरुमा पुग्नुभयो ।’ क्यान्सर रोगबाट पीडित पत्रकार राधाको २०७७ कात्तिक १४ गते निधन भएको थियो ।
सम्पर्क इमेल : [email protected]