डेन्टल एसोसिएसनले भन्यो- ५, १०, १५ बेडका अस्पतालका लागि तय गरिएको दरबन्दी तेरिज तत्काल सच्याईयोस्

5.5k
Shares

काठमाडौँ, ६ साउन । नेपाल डेन्टल एसोसिएसनले ५ १० १५ बेडका अस्पतालका लागि तय गरिएको भनिएको दरबन्दी तेरिज प्रति आपत्ति जनाएको छ । सो दरबन्दी तेरिज दन्त चिकित्सक प्रति ‘पूर्वाग्रह राखि’ बनाइएको भन्दै आपत्ति जनाएको हो ।

एसोसिएसनले गत बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री, राज्यमन्त्री, सचिव लगायत उच्च तहका पदाधिकारीहरुलाई भेटेर ५ १० र १५ बेडका आधारभूत अस्पतालमा दन्त स्वास्थ्य सेवा प्रदान गर्ने जनशक्ति राख्ने कुरामा गम्भीर त्रुटि भएको औंल्याउँदै ध्यानाकर्षण गराएको छ।

नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा सुभित मास्केले ५, १०, १५ बेडको अस्पतालमा ओरल हेल्थ युनिट स्थापना गरी दन्त चिकित्सकको दरबन्दी स्थापना गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी अहिले बनाएको दरबन्दी तेरिजप्रति आपत्ति जनाउँछौँ र यसलाई तत्काल सुधार गरियोस भन्न चाहन्छौँ । दन्त स्वास्थ्य सेवा राज्यले कुन तहबाट कसले दिने भन्ने नै विवादको विषय हो, जनताले अबको दिनमा कसको हातबाट सेवा पाउनुपर्ने हो भन्ने पनि कुरा हो, जहाँ दन्त सेवा को परिकल्पना गरिन्छ, त्यहाँ दन्त चिकित्सक हुनै पर्छ भन्ने हाम्रो माग हो।’

केन्द्रीय सदस्य डा लोकेश बर्माले दरबन्दी तेरिजलाई तत्काल संसोधन गर्न स्वास्थ्य संगै विभिन्न निकायको ध्यानाकर्षण गराएको बताए । उनले स्वास्थ्यले तयार गरेको यो दरबन्दी तेरिज न जनताको हितमा न दन्त चिकित्सकको हितमा भएको भन्दै यसलाई तत्काल सच्याउन अनुरोध गरे ।

अर्का डाक्टर हरिप्रसाद ओलीले स्वास्थ्य मन्त्रालयका उच्च तहका पदाधिकारीहरुले नै झुटो आश्वासन बाँडेर गुमराह पारेको आरोप लगाए । ‘टेबल ठटाउनेका कुरा सुनेर डर, त्रास, धम्की, प्रलोभन के के मा परेर जथाभावी दरबन्दी राखिदिने, अनि हामीले नम्र, शिष्ट व्यवहारमा कुरा राख्दा चाहिँ हामीलाई आश्वासन मात्र दिने काम स्वास्थ्य मन्त्रालयको उच्च कर्मचारीबाट भएको छ, स्वास्थ्यमन्त्रीलाई हामीले त्यही ध्यानाकर्षण गराएका हौं, कर्मचारीतन्त्रले त गरेन, जनप्रतिनिधिले त जनताको बारेमा पक्कै सोच्नेछन् भन्ने हाम्रो विश्वास अझै कायम छ,’ उनले भने ।

संघकी केन्द्रीय सदस्य डा खिलासा पोखरेलले दरबन्दी तेरिज नसच्याए दन्त चिकित्सकहरु मन्त्रालय घेरावन्दी गर्न बाध्य हुने बताईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *