कोरोना संक्रमणमा बृद्धि भएपछि नयाँ दिल्लीमा आजबाट रात्रीकालिन कर्फ्यु

बीबीसी । भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट पुनः रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको छ।

ओमिक्रोन भेरिअन्टसँग जोडिएका सङ्क्रमणका घटना वृद्धि भएपछि यस्तो घोषणा गरिएको हो। बीबीसी हिन्दीका अनुसार दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो।

यो निर्णय सोमवारबाटै लागु हुनेछ।

पछिल्लो २४ घण्टामा दिल्लीका २९० जना नयाँ सङ्क्रमणका घटना पुष्टि भएको थियो। उक्त सङ्ख्या पछिल्लो छ महिनायताकै सर्वाधिक भएको बताइएको छ।

पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको थियो। त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ११ सयभन्दा बढी छ।

भारतमा पछिल्लो २४ घण्टामा करिब सात हजार नयाँ सङ्क्रमणका घटना देखिएको विवरण आएका छन्।

दिल्लीबाहेक अरू कैयौँ भारतीय राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् र मानिसहरूलाई भेला हुनबाट रोकिरहेका छन्।

तर कैयौँ मानिसले अधिकांश ठूला भेलाहरू दिनमा हुने गरेका भन्दै पछिल्ला घोषणाबारे प्रश्न उठाइरहेका छन्।

हालसम्म भारतमा चार सयभन्दा बढी ओमिक्रोन भेरिअन्ट सङ्क्रमणका घटना पुष्टि भएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *