जनकपुरमा १६औँ वर्ष पनि सञ्चालन भयो निःशुल्क स्वास्थ्य शिविर, रक्तदान र छात्रवृत्ति वितरण कार्यक्रम

जनकपुरधाम ३० कात्तिक । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५, रामपुरमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।
श्री रामजानकी आदर्श पुस्तकालयको १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित उक्त कार्यक्रम हरेक वर्ष छठ पर्वको पारनका दिन आयोजना हुँदै आएको छ।
विगत १६ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट जनकपुरधाम उपमहानगरपालिका–१५ लगायत आसपासका वडाका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म लाभान्वित हुँदै आएका छन्।
आजको कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर रामनन्दन प्रसाद चौधरी थिए। उनी ईशान बाल तथा महिला अस्पतालका प्रमुख बाल शल्य चिकित्सक, पेडियाट्रिक युरोलोजिस्ट तथा कार्यकारी निर्देशक हुन्। डा. चौधरीको सहयोग, पहल र निर्देशनमा विगत १६ वर्षदेखि स्वास्थ्य शिविरलगायतका सामाजिक कार्यक्रम सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ।
स्वास्थ्य शिविरमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए। शिविरमा बाल शल्य चिकित्सा, बाल रोग, जनरल फिजिसियन, हाडजोर्नी तथा दन्त रोगसम्बन्धी सेवा उपलब्ध गराइएको थियो।

कार्यक्रममा प्राध्यापक डा. चौधरीसहित विभिन्न विधाका चिकित्सकहरूको सहभागिता थियो। जनरल फिजिसियनका रूपमा डा रामेश्वर महासेठ र डा. बलराम साहलगायत चिकित्सकले सेवा प्रदान गरेका थिए।
यसैगरी, कार्यक्रममा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। रक्तदानमार्फत अरूको जीवन बचाउन योगदान पुर्याउने उद्देश्यले सहभागीहरूले रक्तदान गरेका थिए।
कार्यक्रममा स्वर्गीय बाबाजी चौधरी तथा कबुतरी देवी चौधरी मेमोरियल ट्रस्टका तर्फबाट जनकपुरधाम उपमहानगरपालिका–१५ का एसईई परीक्षामा उत्कृष्ट जीपीए हासिल गर्ने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिएको थियो।
कार्यक्रममा जानकी आँखा अस्पतालका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्षको समेत उपस्थिति थियो। सो अवसरमा उनीहरुले आगामी वर्षदेखि यस कार्यक्रममा आँखासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्ने घोषणा गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१५ का वडाध्यक्षको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न वडाका युवा, समाजसेवी तथा सर्वसाधारणको सहभागिता थियो।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 


