दक्षिण कोरियामा १० वर्षपछि हैजा संक्रमण पुष्टि

काठमाडौँ, ५ मंसिर । दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी र स्वच्छ खानपानमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार दक्षिणपूर्वी बन्दरगाह सहर चाङ्गवोनमा बान्ता र पखालाको लक्षण देखिएपछि अस्पताल पुगेका एक व्यक्तिमा हैजा पुष्टि भएको हो। ती व्यक्ति उपचारपछि मङ्गलबार निको भएर घर फर्किसकेका छन्।
उनले पछिल्लो दुई महिनामा विदेश यात्रा नगरेको पाइएको छ। सङ्क्रमणको स्रोत र उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको एजेन्सीले जनाएको छ।
सन् २०१६ पछि दक्षिण कोरियामा हैजा पुष्टि भएको यो पहिलो घटना हो। सन् २००१ मा भएको ठूलो प्रकोपमा कम्तीमा १६२ जना सङ्क्रमित भएका थिए।
हैजा दूषित पानी र खानाबाट फैलिने रोग हो। सङ्क्रमित व्यक्तिको दिसा वा बान्ताको सम्पर्कबाट पनि सर्न सक्ने यस रोगले गम्भीर अवस्थामा शरीरमा पानीको कमी गराई ज्यानसमेत लिन सक्छ।
स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी पिउन, खाना राम्ररी पकाएर खान तथा फलफूल र तरकारी धोएर प्रयोग गर्न आग्रह गरेका छन्।
शङ्कास्पद बिरामीको तत्काल परीक्षण गरी सङ्क्रमणबारे जानकारी गराउन स्वास्थ्य संस्थाहरूलाई पनि निर्देशन दिइएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 


