डब्लुएचओको अनुसन्धान टोली पुग्यो कोभिड–१९ फैलिएको उहानमा

180
Shares


उहान, चीन, १८ माघ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको उहानको बजारको भ्रमण गरेको छ ।

समूहका सदस्यहरुले हुआनानको सामुद्रिक जीव बजारको भ्रमण गरेका थिए । यो बजारलाई गत वर्षको जनवरीदेखि नै सिलबन्दी गरिएको छ । एएफपीका पत्रकारहरुका अनुसार सुरक्षाकर्मीले डब्लुएचओका सदस्यलाई मात्र बजारभित्र प्रवेश दिएका थिए ।

चीनले गरेको ढिलाई एवं राजनीतिक आरोहअवरोहका बीच डब्लुएचओको टोलीले जनावरबाट मानिसमा भाइरस कसरी सरेको थियो भन्ने अनुसन्धान गर्न खोजेको छ ।

तर भाइरसको स्रोत पहिचान गर्न निकै कठिन रहेको डब्लुएचओले अड्कल गरेको छ । उहानबाटै फैलिएको आशंका गरिएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर २० लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने विश्वको अर्थव्यवस्था नै संकटमा उभिएको छ ।

आइतबार डब्लुएचओको अनुसन्धान टोली हुआनानको बजार अनुगमन गर्न आइपुगेको थियो । डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीहरुले निकै गम्भीरतापूर्वक नियालीरहेका छन् ।

चिनियाँ अखबार ग्लोबल टाइम्सले भाइरसको स्रोत उहानको बजार नभएको दाबी गर्दै खबर प्रकाशन गरिरहेको छ । चिनियाँ अधिकारीहरुले कोभिड–१९ लाई नियन्त्रणमा ल्याउन चीन सरकारले अपनाएको कदम र नागरिकले दिएको साथ अमूल्य रहेको बताउँदै आएका छन् ।

चीनमा कोभिड–१९ को संक्रमणबाट चार हजार ६३६ जनाको मृत्यु भएको आधिकारिक विवरणमा उल्लेख छ । रासस/एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *