आरबी डायग्नोस्टिकमा पल्मोनरी रिह्याबिलिटेसन कार्यक्रम सुरु

सीओपीडीका बिरामीलाई औषधिसँगै व्यायाम, पोषण र रोगसम्बन्धी परामर्श दिइने
0
Shares

काठमाडौं, २ मंसिर । ज्ञानेश्वरस्थित आरबी डायग्नोस्टिकमा सीओपीडी (क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज) का बिरामीलाई लक्षित गरी पल्मोनरी रिह्याबिलिटेसन कार्यक्रम सुरु गरिएको छ।

विश्व सीओपीडी दिवसको अवसर पारेर वरिष्ठ छातीरोग विशेषज्ञ रमेश चोखानीले बुधबार उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

सिप्ला नेपालको समन्वय तथा पहलमा सुरु गरिएको यस कार्यक्रमअन्तर्गत सीओपीडीका बिरामीलाई दुई महिनासम्म विशेष तालिम, व्यायाम, पोषण तथा रोग व्यवस्थापनसम्बन्धी परामर्श दिइनेछ। कार्यक्रमको मुख्य उद्देश्य बिरामीको शारीरिक क्षमता बढाउनु, श्वासप्रश्वासमा हुने कठिनाइ कम गर्नु र जीवनको गुणस्तर सुधार गर्नु रहेको डा. चोखानीले बताए।

के हो पल्मोनरी रिह्याबिलिटेसन ?

डा चोखानीका अनुसार पल्मोनरी रिह्याबिलिटेसन भनेको औषधि उपचारसँगै बिरामीको शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउने समग्र उपचार पद्धति हो। यसमा बिरामीलाई आफ्नो स्वास्थ्य अवस्थाअनुसार विभिन्न शारीरिक व्यायाम गर्ने तरिका सिकाउनुका साथै रोगबारे जानकारी, खानपान र जीवनशैली व्यवस्थापनका विषयमा समेत प्रशिक्षण दिइन्छ।

‘यो कार्यक्रममा बिरामीलाई दुई महिनासम्म इनरोल गरेर विभिन्न किसिमका व्यायाम गर्न सिकाउँछौँ। आफ्नो रोग के हो, कस्तो खानपानले स्वास्थ्यमा सुधार हुन्छ र कसरी आफ्नो जीवनशैली व्यवस्थित गर्ने भन्ने विषयमा पनि जानकारी दिन्छौँ,’ डा. चोखानीले भने।

उनका अनुसार विकसित देशहरूमा पल्मोनरी रिह्याबिलिटेसन कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएका छन्। यस्ता कार्यक्रममा सहभागी भएका बिरामीको व्यायाम गर्ने क्षमता बढ्ने, मांसपेशी बलियो हुने र शारीरिक गतिविधि गर्दा सास फेर्न गाह्रो हुने समस्या कम हुने विभिन्न अनुसन्धानले देखाएका छन्।

विशेषगरी लामो समयदेखि सीओपीडीबाट पीडित बिरामीमा मांसपेशी कमजोर हुने, शरीर दुब्लाउँदै जाने र सामान्य हिँडडुल गर्दा समेत सास फेर्न कठिन हुने समस्या देखिन्छ। नियमित तथा व्यवस्थित व्यायाममार्फत मांसपेशी बलियो बनाएर यस्ता समस्या कम गर्न सकिने डा. चोखानीको भनाइ छ।

‘हामीकहाँ आउने धेरै बिरामीको मांसपेशी कमजोर भएको हुन्छ। शरीरमा मासु सुकिसकेको हुन्छ। उनीहरूलाई उचित व्यायामको तालिम दिएर मांसपेशी बलियो बनाउन सकियो भने हिँडडुल गर्न, सिँढी चढ्न र दैनिक काम गर्न सहज हुन्छ। यसले बिरामीको आत्मविश्वाससमेत बढाउँछ,’ उनले भने।

पल्मोनरी रिह्याबिलिटेसन कार्यक्रमले सीओपीडीका कारण बेलाबेलामा हुने रोगको गम्भीर अवस्था अर्थात् एक्जासरबेसन को जोखिम तथा त्यसबाट हुने स्वास्थ्यसम्बन्धी जटिलता कम गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

डा. चोखानीले पल्मोनरी रिह्याबिलिटेसन औषधिको विकल्प नभई औषधि उपचारलाई थप प्रभावकारी बनाउने पूरक उपचार पद्धति भएको स्पष्ट पारे। सीओपीडीका बिरामीले चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन जारी राख्दै यस्तो कार्यक्रममा सहभागी हुन सक्नेछन्।

आरबी डायग्नोस्टिकमा सञ्चालन हुने कार्यक्रम दुई महिनाको हुनेछ। कार्यक्रममा सहभागी हुनुअघि बिरामीको स्वास्थ्य अवस्थाको प्रारम्भिक परीक्षण गरिने र दुईमहिने तालिम पूरा भएपछि पुनः परीक्षण गरेर स्वास्थ्यमा आएको परिवर्तन मूल्यांकन गरिने डा. चोखानीले जानकारी दिए। बिरामीको प्रगति मूल्यांकनका लागि प्रश्नावलीमा आधारित अध्ययनसमेत गरिनेछ।

कार्यक्रममा सहभागी हुन चाहने बिरामीलाई सहज हुने गरी समय व्यवस्थापन गरिनेछ। कार्यक्रम लगभग निःशुल्क हुने भए पनि सहभागीले बीचमै छाड्ने प्रवृत्ति रोक्न र पूरा अवधिसम्म नियमित सहभागी गराउन सामान्य शुल्क लिने तयारी गरिएको उनले बताए।

दुईमहिने प्रशिक्षण पूरा भएपछि पनि बिरामीले घरमै नियमित व्यायामलाई निरन्तरता दिनुपर्ने हुन्छ। यसका लागि तालिमका क्रममा उपकरणको सहायताले गरिने व्यायामका अतिरिक्त घरमै कुनै विशेष उपकरणबिना गर्न सकिने अभ्याससमेत सिकाइनेछ।

‘नेपालमा सीओपीडी बढ्नुमा धूम्रपान र अन्य कारण’

नेपाली हेल्थसंगको कुराकानीमा डा. चोखानीले नेपालमा सीओपीडी जनस्वास्थ्यको गम्भीर समस्याका रूपमा रहेको उल्लेख गर्दै यसको प्रमुख कारणबारे आम नागरिकमा सचेतना आवश्यक रहेको बताए।

उनका अनुसार सीओपीडीको मुख्य कारण धूम्रपान भए पनि नेपालको परिवेशमा अरु थप कारणहरु पनि सहायक हुने गरेको छ । सीओपीडीको प्रमुख कारण धूमपान त हो नै त्यस बाहेक विशेषगरी ग्रामीण तथा पहाडी क्षेत्रमा दाउरा र गुइँठा बालेर खाना पकाउँदा निस्कने धुवाँमा लामो समयसम्म बस्नुपर्ने बाध्यताले पनि ठूलो संख्यामा मानिसलाई यो रोगको जोखिममा पारेको छ। धूम्रपान नगर्ने व्यक्तिमा समेत सीओपीडी देखिनुको एउटा प्रमुख कारण घरभित्रको वायु प्रदूषण हो। उनले भने ।

त्यसैगरी सवारीसाधनबाट निस्कने धुवाँ र वातावरणीय प्रदूषणले पनि श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाइरहेको उनले बताए।

‘पहिले धूम्रपान गर्ने व्यक्तिलाई मात्रै सीओपीडी हुन्छ भन्ने बुझाइ थियो। तर हाम्रो सन्दर्भमा दाउरा र गुइँठा बालेर खाना पकाउँदा निस्कने धुवाँले पनि ठूलो असर गरिरहेको छ। चुरोट नखाने व्यक्तिमा समेत यो रोग देखिन थालेको छ,’ उनले भने।

सीओपीडीबाट बच्न धूमपान प्रयोग नगर्नका साथै घरभित्रको धुवाँ कम गर्ने, दाउरा तथा गुइँठाको प्रयोग विस्थापित गर्दै विद्युतीय चुलो र एलपी ग्यासजस्ता स्वच्छ ऊर्जाको प्रयोग बढाउने तथा वातावरणीय प्रदूषण नियन्त्रणमा ध्यान दिनुपर्ने उनको सुझाव छ।

डा. चोखानीले स्वच्छ वातावरणले मानव स्वास्थ्यमा मात्र नभई वनजंगल संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने भन्दै घरघरबाटै धुवाँरहित वातावरण निर्माणको अभियान सुरु गर्नुपर्नेमा जोड दिए।

विश्वव्यापी रूपमा मृत्युका प्रमुख कारणमध्ये तेस्रो स्थानमा रहेको सीओपीडी नेपालमा पनि मृत्युको प्रमुख कारणमध्ये एक रहेको उनको भनाइ छ। त्यसैले रोगको समयमै पहिचान, नियमित उपचार, स्वच्छ वातावरण र व्यवस्थित जीवनशैलीमार्फत यसको जोखिम न्यूनीकरण गर्नुपर्ने उनले बताए।

आरबी डायग्नोस्टिकमा सुरु भएको पल्मोनरी रिह्याबिलिटेसन कार्यक्रमले सीओपीडीका बिरामीलाई औषधि उपचारसँगै व्यवस्थित व्यायाम र जीवनशैली सुधारको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

डा. चोखानी पछिल्लो दुई वर्ष देखि आरबी डाइग्नोस्टिकबाट सेवा दिई रहेका छन् । उनले भर्ना हुनु पर्ने बिरामीलाई फ्रन्टलाइन अस्पतालसंग सहकार्य गरेको समेत बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *