औषधिको समुचित प्रयोगबारे तेस्रो ‘आईएसआईयुएम’ अन्तर्राष्ट्रिय सम्मेलन भोलिदेखि

0
Shares

काठमाडौँ, २ मंसिर ।  इन्टरनेशनल सोसाइटी टु इम्प्रुभ द युज अफ मेडिसिन (आईएसआईयुएम) को आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ।

‘मेडिसिन इन डिजिटल वर्ल्ड’ नाराका साथ होटल र्‍याडिसनमा आयोजना हुने तीनदिने सम्मेलनमा नेपालसहित २३ देशका करिब १५० जना स्वास्थ्य क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, चिकित्सक, फार्मासिस्ट, नर्स तथा विद्यार्थी सहभागी हुनेछन्।

नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष तथा सम्मेलनको स्थानीय आयोजक समितिका अध्यक्ष डा. कादिर आलमले औषधिको प्रयोगमा देखिएका समस्या न्यूनीकरण र यसको समुचित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए। उनले औषधिको तर्कसंगत प्रयोगका लागि बिरामी, चिकित्सक र औषधि व्यवसायीका साथै सरकारले पनि प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

सम्मेलनमा ६२ वटा पोस्टर प्रस्तुति, २५ वटा मौखिक अनुसन्धान प्रस्तुति, चारवटा मुख्य सम्बोधन, दुईवटा प्लेनरी सत्र, विभिन्न समानान्तर सत्र तथा कार्यशाला सञ्चालन हुनेछन्।

कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा आईएसआईयुएमकी डा. फातिमा सुलेमानले विश्वभर औषधिको उचित प्रयोग सुनिश्चित गर्न जनचेतना र सरकारी तहबाट प्रभावकारी अनुगमन आवश्यक रहेको बताइन्। उनले कुन औषधि किन र कसरी प्रयोग भइरहेको छ भन्ने विषयको अध्ययन तथा मूल्यांकनबाट बिरामीको औषधिमा पहुँच र उपचारसम्बन्धी निर्णयलाई थप प्रभावकारी बनाउन सकिने बताइन्।

सम्मेलनमा विशेषगरी एन्टिबायोटिकको अनावश्यक प्रयोग र प्रतिजैविक प्रतिरोधको बढ्दो समस्याबारे पनि छलफल हुनेछ। सहभागी वक्ताहरूले भाइरल संक्रमणमा एन्टिबायोटिक प्रयोग गर्नु उचित नभएको उल्लेख गर्दै चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन नगर्न र चिकित्सकले पनि औषधि लेख्नुअघि यसको आवश्यकता मूल्यांकन गर्नुपर्नेमा जोड दिएका छन्।

आयोजकका अनुसार सम्मेलनबाट प्राप्त अनुभव, अनुसन्धान र निष्कर्षलाई समेटेर प्रतिवेदन तयार गरिनेछ। उक्त प्रतिवेदनमार्फत औषधिको समुचित प्रयोगका लागि आवश्यक नीति निर्माण तथा कार्यान्वयनमा सरकार र नीति निर्मातालाई सुझाव दिइनेछ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *