प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

36
Shares

काठमाडौँ, २ मंसिर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिजैविक प्रतिरोध (एएमआर)को बढ्दो जोखिम न्यूनीकरण तथा रोकथामका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, खाद्य प्रणाली र वातावरण क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन् ।

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ का अवसरमा भिडियो सन्देश जारी गर्दै उनले प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यको मात्र नभई बहुक्षेत्रीय साझा चुनौती भएको उल्लेख गरिन् ।

प्रतिजैविक औषधिले प्रभावकारी रूपमा काम नगर्दा सामान्य सङ्क्रमणको उपचारसमेत कठिन हुने र यसले मानव तथा पशु स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने उनले बताइन् ।

नेपालमा टाइफाइड, क्षयरोग, मलेरिया, श्वासप्रश्वाससम्बन्धी तथा अस्पतालजन्य सङ्क्रमण गराउने सूक्ष्मजीवमा प्रतिजैविक प्रतिरोध बढ्दै जानु चिन्ताजनक भएको मन्त्री मेहताले बताइन् ।

सरकारले प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना तर्जुमा गर्नुका साथै विभिन्न नीति, कार्यक्रम र पहल अघि बढाएको उनले जानकारी दिइन् ।

मन्त्री मेहताले चिकित्सकको सल्लाहबिना आफूखुसी प्रतिजैविक औषधि सेवन नगर्न, स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार मात्र त्यस्ता औषधि प्रयोग गर्न तथा सङ्क्रमणबाट बच्न खोप, सरसफाइ र हातको स्वच्छतामा ध्यान दिन आग्रह गरिन् ।

हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह यस वर्ष ‘एक स्वास्थ्य, एक  अभियान : प्रतिजैविक जैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *