छैटौँ कोरोना संक्रमित ६५ बर्षीया महिलाको रिपोर्ट नेगेटिभ
बागलुङ ४ बैशाख । धौलागिरी अस्पतालको आइसोलेसनमा रहेकी छैटौँ कोरोना संक्रमित ६५ बर्षीया महिलाको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। विहीबार पोखराको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।
यसअघि उनको सोही प्रयोगशालामा दुई पटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
स्वास्थ्य कार्यालयबागलुङका प्रमुख सुरज गुरौँले ६५ बर्षीया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ आएको पुष्टि गरे । ‘यसअघि दुईपटक पोजेटिभ आएको थियो । आज आएको रिपोर्ट चाहि नेगेटिभ आयो । अव पुन २४ घण्टापछि परीक्षण गर्छौं त्यसमा पनि नेगेटिभ आएमा डिस्चार्ज गर्ने योजना छ,’ गुरौले भने ।
ती महिला २० चैत देखि धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन्। अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ । बेल्जियमबाट कतारको दोहा हुँदै उनी गत ४ चैतमा नेपाल आएकी थिइन्।
बेल्जियमबाट उनीसँगै आएकी बागलुङकै १७ बर्षीया किशोरी पनि सोही अस्पतालको आइसोलेसनमा छिन् । तर उनको आज चौथो पटक गरिएको कोरोना परीक्षण पनि रिपोर्ट पोजिटिभ देखिएको गुरौले बताए ।
ती युवती पाँचौ संक्रमित हुन् । उनलाई कोरोना संक्रमण भएको १५ चैतमै थाह भएको थियो । त्यस दिन देखि उनी अस्पतालमा छिन् ।
सम्पर्क इमेल : [email protected]