कोरोना भाइरस परीक्षण गर्न ‘स्याम्पल’ को पर्खाइमा वीर अस्पताल, दैनिक ६० जनाको परीक्षण गर्न सकिने

196
Shares

काठमाडौँ, २८ चैत । वीर अस्पतालको जेनेटिक प्रयोगशाला कोरोना भाइरस (कोभिड -१९) को परीक्षण गर्न मिल्ने गरी तयार भएको छ । अस्पताल अब कोरोना भाइरस परीक्षण गर्ने नमूना (स्याम्पल)को पर्खाईमा रहेको छ ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले रियल टाइम पीसीआर प्रविधिबाट कोभिड – १९ को परीक्षण गर्न ल्याव तयार रहेको बताए । उनले भने, ‘अब त हामी परीक्षणका लागि नमूना (स्याम्पल)को खोजीमा छौँ । हाम्रो ल्यावलाई कम्तिमा ५ वटा स्याम्पल चाहिन्छ । दुई सिफ्टमा अहिले दैनिक ६० वटासम्म परीक्षण गर्न सक्छ ।’

उनले वीर अस्पतालमा अहिले शंकास्पद विरामी एक जना मात्रै भएकोले परीक्षण गर्न नमिलेको बताए । अन्यत्रबाट स्याम्पल जाँच गर्न आयो भने आफूहरु परीक्षणका लागि तयार रहेको जानकारी दिए । अस्पतालले कोभिड परीक्षण गर्न सिनियर मेडिकल टेक्नोलोजिष्ट विष्णुप्रसाद उपाध्यायको नेतृत्वमा टीम बनाएको छ ।

अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सहित देशका १० स्थानबाट पीसीआर प्रविधिबाट कोरोना भाइरसको परीक्षण हुने गरेको छ । यस्तै र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी)बाट पनि एकैपटक ठूलो परिमाण (मास स्केल)मा यसको परीक्षण गरिदैछ ।

उता आजैबाट विराटनगरमा पनि ठूलो क्षमताको पीसीआर मेसिनबाट कोभिड परीक्षण गर्ने तयारी भएको बताइएको छ ।

यता पाटन अस्पतालले पनि सोही प्रविधिबाट कोभिड परीक्षण गर्ने तयारीमा जुटेको छ ।  पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले भने ‘पुरानै पीसीआर मेसिन हो । त्यसबाट नयाँ ढंगले कोभिड १९ परीक्षण गर्ने योजनामा छौँ । अहिले त्यसलाई कसरी कहाँ राख्दा उपयुक्त हुन्छ भन्ने काममा अध्ययन् गर्दैछौँ । यो तयार हुन अझै केही समय लाग्ला जस्तो छ ।’

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आजसम्म देशमा १० वटा मेसिन सञ्चालन आइसकेको र अब छिटै नै त्यो संख्या १५ पुग्ने बताए । अहिले कतिपय ठाँउमा पोर्टेवल पीसीआर मेसिनको माध्यमबाट समेत कोभिड १९ को परीक्षण भइरहेको छ ।

परीक्षणको दायरा बढाउँदै जाँदा सरकारले विराटनगर, धनगढी, पोखरा लगायतका ठाँउमा ठूलो क्षमताका मेसिन समेत जडान गरी परीक्षण कार्यलाई थप गति दिने तयारीमा लागेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *