लकडाउनपछि कसरी सेवा दिदैँछन् ? तीनवटा अस्पतालको भयो अनुगमन
काठमाडौँ, २१ चैत । कोरोना भाइरस (कोभिड – १९)को संक्रमण रोक्न सरकारले देश लकडाउन गरेसंगै ठूला सरकारी अस्पताललाई थप तयारी अवस्थामा रहन निर्देशन दिएको छ । हव तथा डेडिकेटेड तोकिएका ती अस्पतालले के कस्तो तयारी गरेका छन् भन्दै सरकारी तथा व्यावसायिक संस्थाको संयुक्त टोलीले अनुगमन गरेको छ ।
नेपाल मेडिकल काउन्सिल, नेपाल नसिंङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्,नेपाल फार्मेसी परिषद्, नेपाल आयुर्वेद परिषद्, औषधि व्यवस्था विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि सम्मिलित टोलीले आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरको अनुगमन गरेका हुन् ।
अनुमगन टोलीका एक जना सदस्य नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले सम्भावित महामारीको बेला सेवा दिनका लागि अस्पतालको तयारी कस्तो छ भनेर बुझ्नका लागि ति अस्पतालमा पुगेको बताए । उनले अस्पतालहरुको तयारी सन्तोष जनक रहेको बताए ।
अनुगमन, तयारी के छ ? चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीका लागि न्युनतम सामग्री छ कि छैन् ? ओपिडी तथा इमरजेन्सीहरु के कसरी चलेका छन् ? लगायतका कुराहरुको बारेमा जानकारी लिएको बताए । उनले समग्रमा तयारी राम्रो रहेको जानकारी दिए ।
अहिले स्वास्थ्य संस्थाको अनुगमन गर्न सबै पेशागत नियमक निकायहरुको संयुक्त टोली जाने गर्दछ ।
सम्पर्क इमेल : [email protected]