चीनबाट नेपाली उद्धार गर्ने तयारी : ६० बढी स्वास्थ्यकर्मीलाई तालिम दिँदै स्वास्थ्य मन्त्रालय
काठमाडौँ, २६ माघ । चीनबाट ल्याइने १८० जना नेपालीको स्वास्थ्य जाँच तथा हेरचाहका लागि ६० बढी स्वास्थ्यकर्मी खटिने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरुलाई सोमबार (भोलि) ओरिन्टेसन तालिम दिने भएको छ ।
मन्त्रालयका सहप्रवक्ता सागर दाहालका अनुसार ओरिन्टेसनमा डाक्टर नर्स, प्यारामेडिक्सबाहेक एम्बुलेन्स चालकहरु समेत सहभागी हुनेछन् । यो ओरिन्टेसन तालिम हो । भोलि नै सकिन्छ ।
दाहालले तालिम लिएकाहरुलाई विमान स्थलको पार्किङ क्षेत्रमा बनाइने हेल्थ डेस्कमा चीनबाट आउनेहरुको स्क्रीनिङ गर्न, चीनबाट ल्याएर राखिने क्वारेन्टाइनमा हेरचाह गर्न खटाइने बताए । त्यसमा उनीहरुको यातायातको चालक र एम्बुलेन्स चालक समेत हुनेछन् ।
विमानस्थलमा पाँचवटा छुट्टै हेल्थ डेस्क
हुवे प्रान्तमा रहेका १८० जना नेपालीलाई अब केही दिनमै नेपाल ल्याउने तयारी भएको बताइएको छ । त्यसका लागि नेपालबाट हवाईजहाज चार्टर गरी चीन पठाउने सरकारको योजना छ ।
तर, चीनले नेपाल पठाउनु अघि विमानस्थलमा १८० जनाको स्वास्थ्य परीक्षण गर्नेछ । त्यहाँ भाइरसको लक्षण देखिए । उनीहरु नेपाल आउन पाउनेछैनन् । स्वस्थ नेपाली मात्रै नेपाल आउनेछन् ।
नेपाल आइसकेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुन उनीहरुको स्वास्थ्य जाँच गरिनेछ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा पाँचवटा अस्थायी हेल्थ डेस्क विमानस्थल परिसर (पार्किङ)मा निर्माण गर्दैछ ।
‘पाँचवटा हेल्थ डेस्क बन्दैछ । भोलि ओरिन्टेसन लिने स्वास्थ्यकर्मीहरु डेस्कमा खटिनेछन् । केही क्वारेन्टाइनमा खटिनेछन् ।
उनीहरुहलाई पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट (पीपीई) को प्रयोग सम्वन्धमा समेत तालिम दिइनेछ,’ दाहालले भने ।
स्वास्थ्य सचिव खगराज बरालले डव्लुएचओको गाइडलाइन अनुसार नेपालले काम गरिरहेको भन्दै अब १८० जनालाई निकै छिटै उद्धार गरिने बताए ।
सम्पर्क इमेल : [email protected]