मदिरा र गुटखा पछि भारतको बिहारमा पान मसाला प्रतिबन्ध
बीबीसी । बिहार सरकारले झण्डै तीन वर्ष पहिले मदिराको बिक्री-वितरणमा लगाएको प्रतिबन्धपछि अब पान मसालामा समेत त्यस्तो व्यवस्था लागु गरेको छ। शुक्रवार बसेको स्वास्थ्य विभागको उच्च स्तरीय बैठकपछि त्यस्तो निर्णय लिइएको बताइएको छ।
हालका लागि उक्त प्रतिबन्ध एक वर्षको लागि लगाइएको छ। जस अनुसार अब उक्त राज्यमा पान मसालाको बिक्री, उत्पादन, भण्डारण तथा सेवन र ओसारपसार गर्न पाइनेछैन।
बिहारको राजधानी पटनाको बोरिङ्ग रोड चौबाटोमा रमेश गुप्ताको पान र चुरोट बेच्ने पसल छ। त्यही सानो पसलको भरमा उनको गुजारा चल्ने गरेको छ।
करिब ५५ वर्षीय रमेशले भने, ‘सरकारले निर्णय गरेपछि त मान्नै पर्ने भयो।’
भिन्न-भिन्न मत
‘पान मसालाहरूको सोखिन मानिसहरूको सङ्ख्या निकै धेरै छ। सरकारलाई यसबाट घाटा हुनेछ। यस्तो व्यवस्था पहिले पनि भएको थियो। तर लत बसेकाहरूले जसरी पनि त्यसको व्यवस्था गर्ने गर्छन्।’
शहरका विभिन्न क्षेत्रमा रहेका दोकानदारहरूले सरकारको निर्णयबारे त्यस्तै टिप्पणी गरिरहेका छन्। उनीहरूले सरकारको निर्णयलाई व्यवहारिक मानेका छैनन्।
तर, इन्दिरा गान्धी आयुर्विज्ञान संस्थानका वरिष्ठ चिकित्सक डा. हर्षवर्धनले सरकारको निर्णय स्वागतयोग्य रहेको बताएका छन्। उनका अनुसार यस्तो पहलकदमीले गर्दा राज्यमा मुखको क्यान्सरका रोगीको सङ्ख्यामा कमी आउनेछ।
‘त्यसका साथै कलेज र अस्पतालका भवनबाहिर फैलने दुर्गन्धबाट समेत छुटकारा पाउन सकिनेछ। अब खैनीमाथि समेत प्रतिबन्ध लगाउन गम्भीर मन्थन हुन जरूरी छ।
स्वास्थ्य विभागका प्रधान सचिव संजय कुमार भन्छन्, ‘विहारमा गुटखा पहिलेदेखि नै प्रतिबन्धित थियो। आहिले केही पान मसालामा राज्यमा प्रतिबन्ध लगाइएको हो।’
‘बजारमा बेच्न राखिएका पान मसालाको नमुना प्रयोगशालामा ल्याएर जाँच गर्दा जुन पान मसालामा प्रतिबन्धित रासायनिक पदार्थ म्याग्नेसियम कार्बोनेट पाइयो त्यस्तो पान मसाला भण्डारण, सेवन, बिक्री, उत्पादन र ओसारपसारमा कानुन अनुसार एक वर्षका लागि प्रतिबन्ध लगाइएको हो।’
‘यस अवधिमा अझै कुनै पान मसाला निर्माण कम्पनीले गुणस्तर निर्धारण मापदण्ड अनुरूप काम गरेमा त्यसले पुनस् बजारमा ल्याउन सक्नेछ।’
कति ठीक हो यो निर्णय ?
सरकारी स्वास्थ्य निकायले जुन २० पान मसाला कम्पनीलाई प्रतिबन्ध लगाएको छ जसमा रजनीगन्धा, राज निवास, सुप्रिम, पान पराग, राजश्री, रौनक, सिग्नेचर, कमला पसंद, मधु पान मसाला आदि छन्। यी सबै पान मसालामा प्रतिबन्धित रसायन म्याग्नेसियम कार्बोनेट पाइएको थियो।
बिहार च्याम्बर अफ कमर्शका अध्यक्ष पीके अग्रवाल भन्छन्, ‘मदिराको प्रतिबन्धले सामाजिक अवस्थामा परिवर्तन त आएको छ तर सरकारलाई राजस्वमा हानी हुनुका साथै यसले अरू नै धन्दा फष्टाएको पनि छ।’
‘यो फैसलाको प्रभाव कहाँ र कसरी हुन्छ यो भविष्यले देखाउनेछ तर सुन्दा यो पहल उपयोगी छैन किनभने बिहारमा कुनै पान मसाला कम्पनी छँदै छैन।’
‘सरकारले सोचेरै यो काम गरेको होला, र सामाजिक उत्थानमा केन्द्रित होला।’
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




