वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट समेत ओपिडी सेवा शुरु गर्दै
काठमाडौँ, १४ साउन । वीर अस्पतालले आगामी १ भदौ देखि भक्तपुरको दुवाकोटबाट समेत ओपिडी सेवा शुरु गर्ने भएको छ । वीर अस्पतालको जग्गा रहेको स्थान चाँगुनारायण नगरपालिकाको वडा नम्बर ११ र १४मा पर्ने दुवाकोटमा रहेको भवनबाट ओपिडी सेवा शुरु गर्न लागको हो ।
सरकारले अस्पताल विस्तारका लागि भन्दै गतवर्ष दुवाकोटमा ५७० रोपनी सार्वजनिक जग्गा वीरका नाममा गरिदिएको थियो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा गणेश गुरुङले भक्तपुर क्षेत्रका जनतालाई सहज सेवा पुरयाउने उदेश्यले दुवाकोटबाट समेत अस्थायी ओपिडी शुरु गर्न लागेको बताए ।
‘आउँदो १ भदौ देखि हामी मोवाइल क्लिनिकको रुपमा दुवाकोटमा समेत ओपिडी सञ्चालन गर्नेछौँ । त्यसका लागि हरेक दिन वीरका चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यहाँ पुग्छ,’ प्राडा गुरुङले भने ।
उनका अनुसार सेवाग्राहीको संख्या अनुसार चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली गएर ओपिडी सेवा दिने र थप उपचार चाहिए वीरमा रिफर गरिनेछ ।
त्यसो त सरकारले वीरको दुवाकोट परियोजनाका लागि चालु आर्थिक बर्षका लागि ३० करोड रकम विनियोजन गरेको छ ।
दुवाकोटमा अन्तराष्ट्रिय स्तरको अस्पताल सहित एकेडेमिक कार्यक्रमहरु सञ्चालन गरिने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]