साढे छ हजार बालबालिका खोपबाट वञ्चित

132
Shares

झापा, १५ वैशाख । नेपालका ६ लाख ५० हजार बालबालिकामध्ये ६ हजार पाँच सय पूर्ण खोपबाट वञ्चित छन् ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सरकारले नवजात शिशु(जन्मिएको) देखि १५ महिनाको अवधिभित्रका सबै शिशुलाई निःशुल्क रुपमा विभिन्न रोगविरुद्धको खोप दिने गरिएको छ ।

‘एघार प्रकारका प्राणघातक रोग लाग्नबाट बचाउन सरकारले शिशुको जन्मदेखिनै भ्याक्सिन उपलब्ध गराउने गरेको छ’, स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखा टेकुका प्रमुख कृष्णबहादुर चन्दले भने, ‘यस्ता खोप लिन धेरै बालबालिका अझै वञ्चित छन् ।’

सरकारले क्षयरोग, भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्युएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिसलगायत एघार प्रकारका सरुवा रोग विरुद्धको खोप देशभरका १६ हजार खोप केन्द्रबाट निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

पूर्ण खोप हुनका लागि सबै भ्याक्सिन लगाउनुपर्ने भए पनि धेरै बालबालिका यसबाट छुट्ने गरेका छन् ।

‘दादुरा र रुबेलाका खोप दुई पटक लगाएपछि मात्र पूरा हुन्छ’, प्रमुख चन्दले भने, “अधिकांशले दादुरा र रुबेलाको खोप एक पटक मात्र लगाउने गरेका छन्, जसले पूर्ण खोप हुन सकेको छैन ।”

सरकारले सन् २०१९ सम्ममा दादुरा र रुबेला रोग शून्यमा झार्ने लक्ष्य लिएको छ । तर, दुई पटक खोप लगाउनुपर्नेमा एक पटक मात्र लगाइदा सो लक्ष्य पुरा हुनेमा चुनौती थपिएको प्रमुख चन्दले बताए ।

सबै प्रकारका खोपका लागि प्रति बालबालिका रू पाँच हजार खर्च हुने महाशाखाले जनाएको छ । प्रशासनिक, कर्मचारी लगायतको खर्च हेर्दा प्रतिबालबालिका रू ३० हजार खर्च हुने देखिन्छ ।

खोप कार्यक्रमका लागि वार्षिक रुपमा रू तीन अर्ब २५ करोड खर्च हुने गरेको महाशाखाले जनाएको छ । जसबाट १२ देखि १८ प्रतिशत उपलब्धि हासिल हुने गरेको पनि प्रमुख चन्दले बताए ।

सन् २००३ भन्दा अगाडि महामारीका रुपमा रहेको ११ प्रकारका रोग अहिले न्यूनीकरण हुँदै गएको बताउँदै उनले भने, “खोपको माध्यमबाट बाल मृत्यु दर कम र औषत आयु वृद्धि भएको छ ।”

महाशाखाले सन् २०१७ देखि २०२१ सम्म बहुवर्षीय योजना सञ्चालन गरेको छ, भने ४२ जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिसकेको छ । खोप ऐन २०७२ समेत पास भइसकेको जनाएको छ । त्यस्तैै, खोप कोष स्थापना गरी त्यसमा रु साढे नौ करोडभन्दा बढी रकम जम्मा भइसकेको महाशाखाले जनाएको छ ।

हाल विश्वमा ८८ लाख बालबालिकाको मृत्यु हुने गरेको छ भने खोपको माध्यमबाट २० लाख बालबालिकालाई बचाउन सक्षम भएको प्रमुख चन्दले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *