दाङ : गर्मीसँगै बिरामी पनि बढे

44
Shares

 

दाङ, ६ वैशाख । केहीदिनदेखि दाङमा गर्मी बढेसँगै यहाँका सरकारी तथा निजी अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या बढेको ती अस्पतालले जनाएको छ ।

तुलसीपुरमा रहेको सरकारी राप्ती अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामी आउने गरेको सो अस्पतालले जनाएको छ । उपचार गर्न आउनेमा ज्वरो, झाडापखाला, रुघाखोकी, टाइफाइड, छालासम्बन्धीका बिरामी बढी रहेका छन् ।

त्यसैगरी घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पतालमा पनि दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

त्यस अस्पतालमा पनि ज्वरो, झाडापखाला, रुघाखोकी, टाइफाइड, छालासम्बन्धीका बिरामी बढी रहेका छन् ।

गर्मी समयमा छाला सुख्खा हुनेहुँदा छालासम्बन्धी रोग देखापर्ने राप्ती उपक्षेत्रीय अस्पतालका रोग विशेषज्ञ डा प्रताप पोखरेलले बताए।

तुलसी अस्पताल तुलसीपुरमा पनि उपचार गराउन आउने बालबालिकाको संख्या बढिरहेको सो अस्पतालले जनाएको छ ।

अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा किशोर खत्रीले केहीदिनयता निमोनिया, झाडापखाला, श्वासप्रश्वासमा समस्या, कमलपित्त, भाइरल ज्वरोका बिरामी बालबालिका उपचारका लागि आउनेको संख्या वृद्धि भएको बताए । त्यसैगरी लमही अस्पतालमा पनि उपचारका लागि आउने बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।

गर्मी मौसममा पानी धेरै खानुपर्ने, बासी सडेगलेको, झिंगा भन्केको खाना नखान डाक्टरले सुझाव दिएका छन् ।

उनीहरुले जाडो समयभन्दा गर्मी मौसममा विभिन्न रोग चाँडो फैलने हुँदा आफ्नो स्वास्थ्यप्रति सचेत रहन आग्रहसमेत गरेका छन् । केहीदिनदेखि दाङमा गर्मी बढ्दै गएको छ ।

जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार दाङमा बुधबार अधिकतम तापक्रम ३४ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *