स्वाइनफ्लुको आशंकामा स्याङ्जाबाट ४० जनाको नमूना काठमाडौँ पठाइदै

स्याङजा, १५ साउन । स्वाइनफ्लु फैलिएको आशंकामा केन्द्रबाट आएको प्राविधिक टोलीले वालिङ क्षेत्रबाट करीब ४० जनाको रगत तथा घाटी मुनीको ऱ्याल (थ्रोट स्वाब) संकलन गरी परीक्षणका लागि काठमाडौँ पठाएको छ ।
गत सोमबार वालिङ १४ पेखुका खुमप्रकाश अर्यालयको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो । उनको जस्तै लक्षण लिएर स्वास्थ्यकेन्द्रमा आउनेको संख्या बढ्न थालेपछि केन्द्रबाट प्राविधिक टोली वालिङ आएको हो ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा आएको टोलीले संकास्पद २० जनाको रगत तथा अरु २० जनाको घाटी मुनीको ऱ्याल (थ्रोट स्वाब)को नमूना संकलन गरेको हो ।
‘ज्वरो आउने टाउको दुख्ने घाँटी दुख्ने, रुघाखोकी लाग्ने विरामीहरुको नमूना संकलन गरिएको छ । यो जनस्वास्थ्य कार्यालय टेकुमा लगेर परिक्षण गरिन्छ । त्यसपछि मात्रै प्रकोप फैलिएको नफैलिएको बारे एकिन भन्न सकिन्छ,’ लामिछानेले प्रतिक्रिया दिए ।
उनले अहिले मौसमी फ्लु फैलने समय भएकोले पनि रुघाखोकी , ज्वरो आउने भएमा थप सतर्कता हुने , भिडमा नजाने, मास्कको प्रयोग गर्ने, सावुन पानीले हात धुने पानी उमालेर खाने लगायतका कार्यगर्न स्थानीय सर्वसाधारणलाई आग्रह गरेका छन् ।
यता पशुस्वास्थ्यको टोलीले यहाँका सुँगुर, बंगुरको पनि नमूना संकलन गरी परीक्षण गर्ने तयारीमा रहेको बताएको छ ।
यो रोगबाट बच्न खोक्दा हाच्छियूँ गर्दा सफा कपडा वा रुमालको प्रयोग गर्ने, साबुन पानीले मिचीमिची हात धुने, पोषिलो झोलिलो खानेकुरा खाने, अनावश्यक मानिसको भीडभाडमा नजाने, आँखा, नाक, मुखमा अनावश्यक हात नलैजाने, हात नमिलाउने, अंकमाल गर्न नहुने लामिछानेले बताए ।
वालिङ तथा आसपासका बासिन्दा त्रसित भएपछि टोलटोलमा गएर अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्नुकासाथै सर्वसाधारणलाई नआत्तिन र सजग रहन आग्रह गरिएको छ ।
केही दिन यता दैनिक जसो ५० बढी व्यक्ति एकै किसिमको लक्षण लिएर आउन थालेपछि स्थानीय स्वास्थ्यकर्मीले स्वाइनफ्लुको प्रकोप हुनसक्ने भन्दै केन्द्रबाट सहयोग मागेको थिए । सोही अनुसार केन्द्रले औषधि सहित टोली पठाएको हो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



