सन्दर्भ: विश्व मुटु दिवस - २०२६

मुटु स्वस्थ राख्ने सात सूत्रहरू

40
Shares

हिजोआज धेरै मानिसमा रक्तचाप, मधुमेह, कोलेस्टेरोल आदि बढ्ने समस्या देखिन थालेको छ। साथै, कलिलै उमेरमा हृदयाघात, हृदयघातबाट हुने जटिलता, हृदयघात (हार्ट फेल) तथा पक्षाघात (प्यारालाइसिस) जस्ता गम्भीर स्वास्थ्य समस्या भएर ज्यान गुमाउनेको संख्या पनि बढ्दो देखिन्छ।

मुटुको रोग बढ्दै जानुको मुख्य कारण मानिस आफैले गर्ने हेलचेक्राई हो ।

चुरोट र सुर्ती सेवन गर्ने, मुटुलाई असर गर्ने अस्वस्थकर खाना खाने, नियमित व्यायाम नगर्ने, आफ्नो स्वास्थ्य अवस्था कस्तो छ भनेर समयमै जाँच नगर्ने तथा लागेको रोगले खासै अप्ठ्यारो नपारेको भन्दै औषधि–उपचार नगर्ने जस्ता बानीलाई स्वास्थ्यप्रतिको हेलचेक्र्याइँ भन्न सकिन्छ।

धेरै मानिसले यस्ता कुरामा हेलचेक्र्याइँ गर्छन् र पछि पछुताउनुपर्ने अवस्था आउँछ। रक्तचाप, मधुमेह र कोलेस्टेरोलजस्ता समस्याको समयमै जाँच तथा उपचार नगर्दा आँखाको दृष्टि कमजोर हुने, हातखुट्टा नचल्ने, मुटु तथा मिर्गौलामा गम्भीर असर पर्ने र आकस्मिक मृत्युको जोखिमसमेत बढ्न सक्छ।

“ध्यान नपुर्‍याए पछुताउनुपर्ला” भनेको यही हो। तपाईंको मुटु तपाईंको आफ्नै हातमा छ। यसलाई स्वस्थ र बलियो बनाउने वा कमजोर बनाउने कुरामा तपाईंको जीवनशैलीको ठूलो भूमिका हुन्छ। तपाईंको स्वास्थ्य र जीवनप्रतिको जिम्मेवारी पनि तपाईंमै छ।

मृत्यु भएपछि जीवन फर्किँदैन। त्यसैले आफ्नो स्वास्थ्यप्रति हेलचेक्र्याइँ नगरौँ, समयमै सचेत बनौँ र आवश्यक जाँच तथा उपचार गरौँ।

मुटु स्वस्थ राख्ने सात सूत्रहरू

तल लेखिएका कुराहरूलाई ध्यान दिएर पढ्नुहोस्। मुटुलाई स्वस्थ राख्न र मुटुसम्बन्धी गम्भीर रोगबाट बच्न यी कुराहरूलाई आफ्नो जीवनशैलीमा अपनाउनुहोस्।

१. धूम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग्नुहोस्:

मुटुको स्वास्थ्यका लागि चुरोट, सुर्ती, खैनी, बिँडीजस्ता सुर्तीजन्य पदार्थ अत्यन्त हानिकारक हुन्छन्। त्यसैले यस्ता पदार्थको सेवन गर्नुहुन्छ भने आजैदेखि त्याग्ने प्रयास गर्नुहोस्।

२. खानपानमा विशेष ध्यान दिनुहोस्:

जे पायो त्यही खानु हुँदैन। हामीले कस्तो खाना खान्छौँ, त्यसले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ। खाना जस्तो खायो शरीर पनि त्यस्तै बन्छ ।

धेरै चिल्लो, नुन र चिनी भएको खाना नियमित रूपमा खानु मुटुको स्वास्थ्यका लागि राम्रो हुँदैन। मुटुलाई कमजोर बनाउँछ ।

प्याकेटमा पाइने तयारी खाना, जस्तै चाउचाउ, दालमोठ, बिस्कुट, आलु चिप्स आदि तथा धेरै चिनी भएका बोतल वा डिब्बाका पेय पदार्थहरू(कोक, फान्टा, पेप्सी, माउन्टेन ड्यू आदि) पनि कम गर्नुपर्छ। त्यसैगरी, बजारमा चिल्लोमा तारेर पकाइएका समोसा, पकौडा, डोनट, फ्रेन्च फ्राइज, फ्राइड चिकेन आदि पनि सकेसम्म कम खानुहोस्।

यसको सट्टा हरियो सागपात, फलफूल, गेडागुडी तथा अन्य पौष्टिक खानेकुरालाई आफ्नो खानामा प्राथमिकता दिनुहोस्। घरमा खाना पकाउँदा पनि कम नुन, कम चिनी र कम चिल्लो प्रयोग गर्ने बानी बसाल्नुहोस्। नुन, चिनी, चिल्लोले मुटुलाई कमजोर बनाउँछ भन्ने कुरा सम्झिराख्नोस् । याद राख्नुहोस्—स्वस्थ खानपान मुटुलाई स्वस्थ राख्ने महत्वपूर्ण आधार हो।

३. नियमित शारीरिक गतिविधि गर्नुहोस्:

हरेक दिन कम्तीमा ३० मिनेट हिँड्ने वा आफूलाई उपयुक्त हुने शारीरिक गतिविधि गर्ने बानी बसाल्नुहोस्। घरको काम आफैँ गर्ने, घरबारी वा बगैँचामा काम गर्ने, खेतबारीमा काम गर्ने जस्ता गतिविधिले पनि शरीरलाई सक्रिय राख्न मद्दत गर्छन्। नियमित शारीरिक गतिविधिले मुटु तथा समग्र स्वास्थ्यका लागि फाइदा पुर्‍याउँछ।

४. तनाव र रिसलाई नियन्त्रण गर्नुहोस्:

अत्यधिक तनाव, रिस, क्रोध र झगडाले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। त्यसैले सकेसम्म शान्त रहने, धैर्य गर्ने, परिवार तथा साथीभाइसँग प्रेम र सहयोगको भावना राख्ने प्रयास गर्नुहोस्।  माया, सहयोग, धेर्य, भक्ति, दान, पुण्य कार्य आदिले मुटुलाई बलियो बनाउने मात्र होइन शरीरलाई स्वस्थ र जीवनलाई सुखी बनाउँछ । सकारात्मक सोच, सामाजिक सम्बन्ध, सेवा तथा परोपकारी कामहरूले मानसिक सुख र जीवनको गुणस्तर सुधार्न सहयोग गर्न सक्छन्। सुखी बन्ने कि दुःखी बन्ने यो तपाईँको आफ्नो हातमा छ ।

५. बालबालिकाको घाँटीको समस्या बेवास्ता नगर्नुहोस्:

स्कुल जाने उमेरका बालबालिकामा बारम्बार घाँटी दुख्ने, टन्सिल सुन्निने वा संक्रमण हुने समस्या देखिएमा ढिला नगरी स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह लिनुहोस्। विशेषगरी स्ट्रेप्टोकोकल घाँटीको संक्रमणको उचित उपचार नगर्दा दुर्लभ अवस्थामा र्‍युमेटिक ज्वरो हुँदै मुटुको भल्भमा क्षति पुग्न सक्छ। त्यसैले बालबालिकाको घाँटीको समस्या पटक–पटक देखिएमा समयमै जाँच गराउनु महत्वपूर्ण हुन्छ। सानो उमेर देखि नै घाँटीलाई स्याहार्ने, खानपानमा ध्यान दिने, राम्रो बानी व्यहोरा बसाल्ने गर्नु पर्छ ।

६. समय–समयमा स्वास्थ्य परीक्षण गराउनुहोस्:

आफूलाई कुनै समस्या नभए पनि आफ्नो उमेर, स्वास्थ्य अवस्था र जोखिमअनुसार नियमित स्वास्थ्य परीक्षण गराउनु उपयोगी हुन्छ। रक्तचाप, मधुमेह, कोलेस्टेरोलजस्ता मुटुसँग सम्बन्धित जोखिमहरू समयमै पत्ता लगाउन सकिन्छ। कुनै स्वास्थ्य समस्या देखिएमा चिकित्सकको सल्लाहअनुसार समयमै उपचार सुरु गर्नुहोस्। सानो समस्या भनेर बेवास्ता गर्दा पछि जटिल हुन सक्छ।

७. रोग लागेमा सही उपचार गर्नुहोस्:

रोग लागि हाल्यो भने पनि सहि तरिकाले उपचार गरायो भने चाडै निको हुन्छ । आफूखुसी औषधि खाने वा अरूको सल्लाहका भरमा औषधि प्रयोग गर्ने बानी गर्नु हुँदैन। पाएसम्म  विशेषज्ञ चिकित्सकले भने अनुसारको औषधि गर्नु पर्छ । औषधि खाएर मात्र उपचार पुरा हुँदैन । स्वस्थ खानपान, व्यायाम र असल बानी व्यहोरा पनि साथमा चाहिन्छ । आत्मबल पनि बलियो चाहिन्छ ।
मुटुलाई कमजोर वा बलियो कस्तो बनाउने हो त्यो तपाईको आफ्नै हातमा छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *