जापानिज इन्सेफलाइटिस (जेई) को संक्रमण तथा मृत्यु बढ्न थालेपछि विशेष खोप अभियान सुरु गर्दै सरकार

32
Shares

काठमाडौँ, २ असोज । नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) को संक्रमण तथा मृत्यु बढ्दै गएपछि सरकारले नौ जिल्लामा विशेष खोप अभियान सञ्चालन सुरु गरेको छ ।

जेई खोप अभियान अन्तर्गत पहिलो चरणमा जोखिम बढी रहेका कैलाली तीन स्थानीय तह र झापाका सबै स्थानीय तहमा यो अभियान सुरु गरिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार कैलालीका तीन स्थानीय तह (धनगढी उपमहानरपालिका, लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिका) मा बिहीबार (१ असोज) देखि नै विशेष जेई खोप अभियान सुरु भएको छ । झापामा भने ५ असोज देखि अभियान सुरु गरिने बताइएको छ ।

यो विशेष खोप अभियानमा ३० वर्ष वा सो भन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीहरु समेटिने छन् । अभियान अन्तर्गत लक्षित समूहमा पर्ने सबैलाई तोकिएको खोप केन्द्र वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी जेई विरुद्धको खोप लगाउन विभागले अनुरोध गरेको छ ।

नेपालमा जेईको पछिल्लो अवस्था कस्तो छ ?

विभागका अनुसार आर्थिक वर्ष २०८३/०८४ मा अहिलेसम्म १२१ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ । यी केशहरु देशका ३६ जिल्लाका ८४ वटा स्थानीय तहमा देखिएका हुन् ।

पुष्टि भएका केसहरूमध्ये ८५ प्रतिशतले जेई विरुद्धको खोप नलगाएको पाइएको छ। हालसम्म जेई का कारण २६ जनाको मृत्यु भएको छ। मृत्यु भएका सबै व्यक्तिले जेई विरुद्धको खोप नलिएको पाइएको छ । जेईका कारण भएको मृत्युमध्ये ७७ प्रतिशत ५० वर्षभन्दा माथिका व्यक्ति छन् ।

जापानिज इन्सेफलाइटिस कसरी फैलिन्छ ?
जापानिज इन्सेफलाइटिस मुख्यतः संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ। धानखेत, पानी जम्ने स्थान तथा सुँगुर र हाँस पालिने क्षेत्रहरूमा यसको जोखिम बढी हुन सक्छ।

जेई गम्भीर रोग हो। संक्रमण भएका केही व्यक्तिमा मस्तिष्कमा गम्भीर असर पर्न सक्छ र मृत्यु वा दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुन सक्छ।

कसरी सुरक्षित हुने ?
जेईबाट सुरक्षित रहन खोप लगाउनुका साथै लामखुट्टेको टोकाइबाट बच्नु महत्वपूर्ण हुन्छ।

  •  झुलभित्र सुत्ने।
  • हातखुट्टा ढाकिने कपडा लगाउने।
  • घरका झ्याल तथा ढोकामा जाली राख्ने।
  • लामखुट्टेको टोकाइबाट बच्न उपयुक्त रिपेलेन्ट प्रयोग गर्ने।
  • घरवरिपरि पानी जम्ने स्थान हटाउने।

नियमित खोपमार्फत पनि जेईबाट सुरक्षा
नेपालको नियमित खोप कार्यक्रममा १२ महिनाको उमेरमा जेई खोपको एक मात्रा दिइन्छ। १२ महिनाको उमेरमा खोप लगाउन छुटेको भए ५ वर्षको उमेरसम्म जेई खोप लगाउन सकिन्छ।

लक्षण देखिए तत्काल स्वास्थ्य संस्था पुगौँ
जेई संक्रमण हुँदा सुरुमा सामान्य ज्वरो, टाउको दुख्ने, वाकवाकी तथा बान्ता हुनेजस्ता लक्षण देखिन सक्छन्। गम्भीर अवस्थामा उच्च ज्वरो, चेतनामा परिवर्तन, बेसुर हुने, झट्का आउने, मुर्छा पर्ने वा बेहोस हुने जस्ता लक्षण देखिन सक्छन्।

विभागले यस्ता लक्षण देखिएमा घरमै उपचार गरेर समय खेर नफाली तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पुराउन अनुरोध गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *