‘जेन्डर अफर्मिङ्ग सर्जरी’मा विशेषज्ञ मुख तथा दन्त शल्य चिकित्सकको भूमिका

ठ्याक्कै एक बर्ष अघिको कुरा हो, म इजरायलको तेलअभिवस्थित शेबा मेडिकल सेन्टरमा (AO अन्तर्गत) फेलोसिप गर्न पुगेको थिएँ । केहि वर्ष देखि विश्वकै सातौं राम्रो अस्पतालमा अनुसूचित भएको यो अस्पताल र यसले समस्त देशको स्वास्थ्य सेवामा पुर्याएको योगदान अतुलनिय नै छ ।
विकसित प्रविधिको प्रयोग र खोजमुलक अनुसन्धानको नतिजालाई बिरामीको उपचारमा संलग्न गराउने यो सेन्टर जुम्ला खलंगा बजार भन्दा ठूलो थियो ।
मेरो उता फेलोसिप चल्दै गर्दा यता नेपालमा भने शल्य चिकित्सा क्षेत्रमा एउटा इतिहास रचिदै थियो ।
हो, त्यतिवेला नेपालमै पहिलो पटक पुरुषको लिङ्ग परिवर्तन गरेर महिलाको स्वरुपमा फेर्ने शल्यक्रिया भएको थियो ।
त्यसबेला त्रिवि शिक्षण अस्पतालमा भएको सो शल्यक्रियाबारेको समाचार नेपाली मात्रै होइन विदेशी सञ्चारमाध्यमले समेत प्राथमिकताको साथ प्रशारण गरे । कतै कतै समाचारको शीर्षकलाई लिएर विवादमा समेत देखा परेको थियो । तर त्यसबेला शल्यक्रिया गर्ने टोलीले जुन सफलता हासिल गरयो त्यसले नेपाललाई कालान्तर सम्म चिनाउने छ । नेपाली शल्य चिकित्साको इतिहासको एउटा गर्विलो उपलव्धीको रुपमा उभ्याउने छ, उभ्याएको छ ।

के लिङ्ग फेर्दैमा मात्र एक जना पुरुष परिवर्तन भएर महिला बन्न सक्छन् ?
यो लेखको प्रमुख उदेश्य यहि बारेमा बुझाउने सानो प्रयास हो । डेनमार्कको कोपेनहेगन स्थिति रिग्स अस्पतालमा २०१२ देखि २०१४ सम्म मुख शल्य चिकित्सा विभाग ( डानिश भाषामा TMK बिभाग) मा कार्यरत रहदा धेरै ‘जेन्डर अफर्मिङ्ग सर्जरी’ अन्तर्गत मुख र निधारमा गरिने शल्यक्रिया मा सहभागी हुन पाएको थिएँ ।
गत वर्ष इजराइलमा फेरी त्यस्तै खालको शल्यचिकित्सामा सहभागी हुने मौका पाएँ । यस मानेमा म आफूलाई भाग्यमानि नै महसुस गरेको छु । माथिल्लो कर्णालीको सानो केन्द्रिय अस्पताल मा एक्लो विशॆषज्ञ (मुख तथा दन्त शल्य चिकित्सक) ले त्यस्तो अवसर पाउनु आफैमा भाग्यको कुरा पनि हो भन्छु म ।
जेन्डर अफर्मिङ्ग सर्जरी के हो ?
जेन्डर अफर्मिङ्ग सर्जरी (Gender-Affirming Surgery) भनेको व्यक्तिको लैङ्गिक पहिचान (Gender identity) र शारीरिक बनावटलाई मिलाउन गरिने विभिन्न प्रकारका शल्यक्रियाहरू हुन्।
यो सर्जरी विशेष गरी ट्रान्सजेन्डर (transgender) वा केही गैर-द्वैध लैङ्गिक (non-binary) व्यक्तिहरूले आफ्नो शरीरलाई आफूले महसुस गर्ने लैङ्गिक पहिचानसँग मेल खाने बनाउन गराउन सक्छन्।
यसका अरु नाम पनि छन् जस्तै: Feminization surgery, Facial Feminization Surgery (FFS), Body Feminization Surgery आदि ।
कुनै व्यक्ति शारीरिक रुपमा पुरुषको रुप मा जन्मिएता पनि उसको शारीरिक विकास र व्यक्तिगत चाहना पनि महिला सरह हुन सक्छ । यसको लागि आफूलाई महिला नै भएर जीवन बिताउने अठोटका साथ यी व्यक्तिहरु यस शल्यक्रिया प्रक्रियामा सहभागी हुन्छन् ।
इजरायल सरकारले यस्ता व्यक्तिहरुको सम्पूर्ण उपचार निशुल्क गरिदिने रहेछ । अनि त्यहाँ गरिने जेन्डर अफर्मिङ्ग सर्जरी प्रक्रियामा धेरै विषयका विशॆषज्ञहरु सम्मलित टोलीले सामुहिक रुपमा काम गरेर सफलता हात पार्दा रहेछन् । यस अन्तर्गत हार्मोनल उपचार, स्पीच थेरापीदेखि शरीरका अन्य बनावटको पनि उपचार गरिन्छ।
‘जेन्डर अफर्मिङ्ग सर्जरी’मा विशॆषज्ञ मुख तथा दन्त शल्यचिकित्सकको भूमिका
सामान्यता महिला र पुरुषको मुहारमा धेरै फरक चीजहरु हुन्छन् । महिलाको निधार पुरुषको भन्दा सानो र गोलो किसिमको हुन्छ । पुरुषहरुको निधारसम्म अलि कति ठुलो अनि आँखी भौ अलि तल आँखा माथि हुन्छ ।
महिलाको हकमा आँखी भौ अलि कति माथि र हल्का गोलो हुन्छ । नाक पनि महिला र पुरुषको बनावट फरक हुन्छ । पुरुषको हकमा अलि लामो चौडा र कन्भेक्स डन्डी हुन्छ भने महिलाको हकमा सानो, कम फराकिलो र डन्डी हल्का कन्केव शेपको हुन्छ ।
गालाको हड्डी (चीक बोन) पुरुषको समथर जस्तो हुन्छ भने महिलाको हकमा अलि कति उठेको हुन्छ ।
पुरुषको हकमा तल्लो jaw बोन (Mandible) को पछाडी पट्टिको कुना Angle sharp हुन्छ र अलि कति बाहिर गएको हुन्छ। तल्लो चीउड़ो पनि Squared off हुन्छ (चार पाटे मिलेको झैँ ) महिलाको मा प्राय चीउड़ो अलि साँघुरिएको र चुच्चो हुन्छ अनि jaw बोन (Mandible) को पछाडी पट्टिको कुना Angle sharp हुदैन।

पुरुषको मुहार तथा Jaw लाई शल्यक्रियाको माध्यामले महिलाको आकार तथा स्वरूप दिने कामलाई Facial feminization surgery भनिन्छ।
‘जेन्डर अफर्मिङ्ग सर्जरी’कै एक पक्ष हो ।
यस शल्यक्रियामा व्यक्तिको सबै जाँच गरेर माथि टाउकोको छाला खोलेर (Bicoronal flap ) त्यसलाई तलसम्म ल्याई निधारलाई गोलो बनाईन्छ ।
त्यसपछि आँखी भौ माथिको हड्डीलाई मिलाएर, गालाको हड्डीलाई मिलाउनु पर्छ। संगसंगै नाकको बनावट पनि परिवर्तन गर्ने काम गरिन्छ जसलाई Rhinoplasty भनिन्छ । तलको Jaw यानी कि mandible को angle र चिउडो मिलाउनलाई मुखभित्र बाटनै शल्यक्रिया गरिन्छ।
यसर्थ पुरुषलाई महिला बनाउने शल्यक्रिया विधिन्न विधाहरुको सामुहिक प्रयासबाट राम्रो नतिजा ल्याउन सक्ने एक प्रक्रिया हो। लिङ्ग परिवर्तन यसको महत्वपूर्ण तथा प्राय अन्तिममा गरिने शल्यक्रिया हो। नेपालमै यसको सुरुवात हुनु एकदम राम्रो पहलकदमी हो।
अब आउने दिनमा अझ परिस्कृत रुपमा यसको सेवा राजधानी भित्र र बाहिर पनि सुरु हुने बिश्वास छ ।
#डा. पोखरेल हाल Genuine Smile डेन्टल क्लिनिक महाराजगञ्जमा कार्यरत छन् ।
सम्पर्क इमेल : [email protected]







