औषधी आपूर्ति व्यवस्थापन देखिएको समस्या समाधान गर्न भन्दै स्वास्थ्य मन्त्रालय र औषधी व्यवस्था विभागबीच छलफल

काठमाडौं, २१ जेठ । औषधी आपूर्ति तथा व्यवस्थापनमा देखिएका विद्यमान समस्या, गुनासा र तिनको समाधानका उपायबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र औषधी व्यवस्था विभागका प्रतिनिधिबीच बुधबार छलफल भएको छ ।

छलफलमा विशेषगरी क्यान्सरविरुद्ध प्रयोग हुने औषधी तथा इम्युनोसप्रेसन्ट औषधीको आपूर्ति र व्यवस्थापनसम्बन्धी विभिन्न माध्यमबाट प्राप्त गुनासाहरूको वास्तविक अवस्था तथा समस्या समाधानका सम्भावित उपायहरूबारे विचार–विमर्श गरिएको स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ ।

बैठकमा औषधी आयात तथा आपूर्तिको अनुमति प्राप्त गरे पनि सम्बन्धित निकायले औषधी आपूर्ति नगरेको अवस्थामा त्यसबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत विभिन्न विकल्पहरूबारे छलफल भएको बताइएको छ।

यस्तै, जीवनरक्षक (लाइफ सेभिङ ड्रग्स) औषधीको उपलब्धता र आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले औषधी व्यवस्था विभागलाई आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

निर्देशनअनुसार विभागले जीवनरक्षक औषधी आयात गर्न अनुमति प्राप्त आयातकर्ताहरूको सूची, पछिल्ला तीन वर्षमा आयात भएको जीवनरक्षक औषधीको परिमाण, ती औषधीको वार्षिक खपतको विवरण तथा यस्ता औषधी आपूर्तिका लागि अनुमति माग्दै प्राप्त भएका निवेदनहरूको विवरण उपलब्ध गराउनुपर्नेछ।

छलफलमा औषधी व्यवस्था विभागसँग सम्बन्धित सफ्टवेयर प्रणालीको सुधार, क्षमता विस्तार तथा विभागीय वेबसाइटमा रहेका विवरणहरू नियमित रूपमा अद्यावधिक गर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो।

बैठकमा स्वास्थ्य मन्त्री निशा मेहता, उनका विज्ञ सल्लाहकार डा मनोहर प्रधान, औषधी व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गी, मन्त्रालयका कानून उपसचिव गोपीकृष्ण रेग्मीसहित सहित मन्त्रालय र विभागका कर्मचारीहरुको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *