औषधि अभाव हुन नदिन स्वास्थ्यमन्त्री थापाको निर्देशन
बनेपा, २५ पुस । स्वास्थ्यमन्त्री गगनकुमार थापाले काभ्रेपलाञ्चोकमा औषधिको अभाव हुन नदिन कर्मचारीलाई निर्देशन दिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आज धुलिखेलमा आयोजना गरेको पूर्ण खोप सुनिश्चितता कार्यक्रममा उनले काभ्रेपलाञ्चोक जिल्लाबाट औषधिसम्बन्धी सबैभन्दा बढी उजुरी आएकाले त्यसको व्यवस्थापन स्वास्थ्य कार्यालयले गर्नुपर्ने बताए ।
उनले जिल्लाको कुनै पनि स्वास्थ्य चौकीमा औषधिका बारेमा उजुरी आउन नहुनेमा जोड दिँदै भने, “कुन स्वास्थ्य चौकीमा औषधिको अभाव भएको हो लेखेर दिनुहोस्, २४ घन्टामा नै औषधिको आपूर्ति गरिने छ ।”
मन्त्री थापाले नेपालमा एक शिशुका लागि रु पाँच हजार बराबरको खोप खर्च भएको बताउँदै अझै थप खोप दिन सकिने जानकारी दिए ।
सो अवसरमा मन्त्री थापाले पूर्ण खोप सुनिश्चिताको प्रमाणपत्र काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी टेकराज निरौला र जिल्ला स्वास्थ्य प्रमुख अर्जुन सापकोटालाई संयुक्त रुपमा हस्तान्तरण गरे । रासस
सम्पर्क इमेल : [email protected]