टिचिङ अस्पतालका नयाँ पुस्ताका चिकित्सक र नर्स, अनि फेरिएको व्यवहार

त्यसो त महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) को बसाई मेरो लागि पहिलो पटक होईन । परिवार, आफन्त र साथीभाईको उपचारका क्रममा विगतमा धेरै पटक बसेको छु । त्यहाँको उपचार सेवा अनि उपचार सेवामा खटिएका चिकित्सक तथा नर्सको व्यवहारको बारेमा धेरथोर जानकार छु ।
अनि, विगतका धेरै पटकको अनुभवले त्रिवि प्रतिको मेरो धारणा यस्तो थियो :
- सेवा तर्फ उपचार प्रक्रिया ढिला नै भए पनि परीक्षण विस्तृत रुपमा हुन्छ र रोगको पहिचान हुन्छ ।
- चिकित्सकको व्यवहार ठूला चिकित्सकले बिरामीलाई भेटेर खासै टाइम नै दिदैनन् ।
- आवासीय चिकित्सक पनि विद्यार्थी पारा देखाउँछन् । अर्थात बिरामी र तिनका आफन्तले राम्ररी मनमा लागेको कुरा खुलेर सोध्न र भन्न सक्दैनन् ।
- नर्सहरुको व्यवहारको विषयमा त आम बुझाई जस्तै मेरो बुझाई पनि सेवा त दिने तर बिरामीसंग बढी झर्किने, चर्किने खालको भन्ने नै थियो । मैले विगतमा नर्सहरुको यस्ता व्यवहारको विषयमा नर्सिङ अगुवाहरुसंग पनि धेरै पटक कुरा गरेको छु ।
अघिल्लो साता परिवारकै एक सदस्यको उपचारका लागि फेरी त्रिवि शिक्षण अस्पताल बस्नु पर्यो । यसपटक शिक्षण अस्पताल बसाईका क्रममा भोगेका केही अनुभव, खासगरी चिकित्सक तथा नर्सहरुको व्यवहारबारे यहाँ प्रस्तुत गरेको छु ।
…………………………………………………………………….
परिवारको एक सदस्यको उपचारका लागि अढाई वर्ष अघि भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा जाँदा त्यहाँका डाक्टर र नर्सहरुको व्यवहारबाट साच्चिकै मन्त्रमुग्ध भएको थिएँ ।
नेपाल फर्केपछि धेरै सरकारी अस्पतालका निर्देशक तथा प्रमुखहरु, चिकित्सक अगुवा, नर्सका अगुवाहरुलाई भनेको थिएँ, ‘त्यहाँ त बिरामी वा तिनका आफन्तले नर्सहरुलाई जति पटक बोलाए पनि, उपचारका क्रममा भएको गाह्रो सारोको विषयमा जे सोधे पनि हासी हासी उत्तर दिने र काम गर्ने गरेका थिए । चिकित्सक पनि उस्तै बिरामी र तिनका आफन्तका कुराहरुलाई राम्ररी सरल तरिकाले बुझाउने, उपचारको विषयमा जे सोधे पनि सहज ढंगले बताउने । चिकित्सक र नर्स मात्रै कहाँ वार्ड बोई, स्वीपर क्लिनरको व्यवहार समेत अत्यन्त सहयोगी । नेपालमा अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सको व्यवहार पनि यस्तै हुने भए,’ भनेर ।
त्यहाँ उपचार गराउँदै गर्दा मैले झल्झली सम्झेको थिएँ, ‘नेपालको खासगरी सरकारी अस्पताल कार्यरत कतिपय नर्स तथा चिकित्सकहरुको व्यवहार ।’
अनि मनमनै सोधेको थिएँ, ‘ यहाँ चिकित्सक नर्सको व्यवहार यति सहज र सरल के कारणले भएको होला ? अनि नेपालमा यस्तो के कारणले हुन नसकेको होला ?’
तर, सात दिन पछि डिस्चार्ज हुनेबेला उनीहरुले दिएको मूल्यांकन फारम हेरेपछि थाहा भयो, उनीहरुको जागिर, प्रमोसन र अन्य तालीम तथा अवसरको हात त त्यहि बिरामी र आफन्तकोमा हुँदो रहेछ ।
त्यहाँ त डिस्चार्ज हुने बेलामा बिरामी र तिनका आफन्तहरुसंग अस्पतालको सेवा, चिकित्सक नर्ससहितका हरेक कर्मचारीको व्यवहार अस्पतालको राम्रो र नराम्रो पक्षको मूल्यांकन गर्न भनिदो रहेछ ।
राजिव गान्धीमा कर्मचारी प्रशासन शाखामा कार्यरत एक जना नेपाली जीतबहादुर थापाले त्यसबेला हामीलाई भनेका थिए, ‘डाक्टर होस या नर्स बिरामीसंग व्यवहारमा तलमाथि भयो भने, वा बिरामीपक्षले कम्प्लेन गर्यो मात्रै भने त उसको जागिर चैट हुन गाह्रो हुन्न । प्रमोसन र अवसरका लागि मूल्यांकन पनि बिरामी र तिनका आफन्तले गर्ने मूल्यांकनको आधारमा हुन्छ । त्यसैले राम्रो सेवा दिन सबै जनाको प्रतिस्पर्धा हुन्छ ।’
मैले नेपाल आएर त्यसबेला एक जना बरिष्ठ चिकित्सकलाई राजिवगान्धीको अनुभव सेयर गर्दा उनले ‘नेपालमा पनि ठूला र महंगा निजी अस्पतालहरुमा त्यस्तै सेवा हुने’ भनेका थिए । उनले यो पनि भनेका थिए ‘सरकारी अस्पतालमा यस्तो सेवा अपेक्षा गर्नु नै व्यर्थ हो ।’
……………………………………………..
गत साता घरको एक जना सदस्यलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गर्नु पर्ने भयो ।
मेडिसिन वार्ड ‘एनेक्स -टू’ को ६०४ क्याविन पुरानो थियो ।
बेडमा राखिएको म्याट पनि पुरानै थियो ।
ढोकाको चुकुल विग्रिएको थियो ।
कोठा भित्र काटिएर टुक्रा पारिएको डोरम्याट, बेडसंगै असरल्ल अवस्थामा टाङ्गिएका बिजुली वाइरिङहरुले क्याविन व्यवस्थापनमा अस्पताल प्रशासन चुकेको जस्तो देखिन्थ्यो ।
सुरुमै ‘नेगेटिभ भाइव’ जन्मिएको बेला कोठामा छिर्ने नर्स र चिकित्सकको व्यवहार झन् कस्तो होला भनेर चिन्तित थिएँ ।
तर, जति चिन्तित थिएँ त्यस्तो भएन ।
बरु पछिल्ला पुस्ताका डाक्टर र नर्सको व्यवहार त अपेक्षा भन्दा धेरै नै राम्रो लाग्यो ।
नाम नै लिएर भन्नु पर्दा मेडिसिन विभागमा कार्यरत आवासीय चिकित्सकद्धय डा. प्रसन्न कार्की र डा. जितेन्द्रराज कोइरालाको व्यवहार सम्झन योग्य छ । नम्र र मिठो बोली, बिरामी र उनका आफन्तलाई गर्ने काउन्सिलिङ तारिफयोग्य लाग्यो ।
त्यहि कार्यरत नर्स दिदी बहिनीहरुको नाम त सोधिएन तर सबै जसोको व्यवहार अत्यन्त सरल र सहयोगी थियो ।
नेपालमा सरकारी अस्पतालमा कार्यरत नर्स भनिसकेपछि अधिकांशको बुझाई बिरामीसंग झर्किने, च्याठिने भन्ने छ तर एक साता लामो टिचिङ अस्पतालको बसाईमा हरेक नर्सहरु उत्तिकै दयालु र सहयोगी देखिए ।
बिरामीका लागि जतिपटक बोलाए पनि आईदिने, काम गरिदिने गरे । नयाँ पुस्ताका देखिने नर्स बिरामीप्रति अझ ‘हम्बल’ देखिए ।
बिरामीसंग चौविसै घण्टा रहने चिकित्सक तथा नर्सको यो व्यवहारले बास्तवमा अस्पतालको सेवाको गुणस्तरमा समेत अभिबृद्धि गर्नमा सहयोग गर्दछ ।
अढाई वर्ष अघि राजिव गान्धी अस्पतालमा चिकित्सक तथा नर्सको व्यवहारबाट प्रभावित म यसपटक त्रिवि शिक्षण अस्पताल मेडिसिन विभागका आवासीय चिकित्सक र नर्सको व्यवहारबाट पनि उत्तिकै प्रभावित बने ।
शिक्षण अस्पतालको मेडिसिन विभाग मात्रै होईन, एक साताको बसाईमा नाक कान घाँटी रोग विभाग र छाला रोग विभागका आवासीय चिकित्सकहरुको व्यवहार पनि अनुभव गर्ने मौका मिल्यो । इएनटीका डा. सृष्टि गौतम, छाला रोग विभागका डा. अंशु लगायतको टोली, न्युरोका डा. विशद दाहालको बिरामीमैत्री व्यवहार साच्चिकै तारिफयोग्य थियो ।
बरिष्ठ चिकित्सकहरु तर्फ मेडिसिनका डा. महेशराज सिग्देल, डा. सविन थपलिया, डा. साकेत झा, डा. मिलन गैरे, साथै छाती रोग विभागका डा. निरज बम मेरा लागि परिचित तथा सहयोगी चिकित्सक नै हुन् । उनीहरु शिक्षण अस्पतालमा पहिले देखि नै बिरामी मैत्री व्यवहारमा निपूर्ण मानिन्छन् पनि । नयाँ पुस्ताले उनीहरुको सो व्यवहार अबलम्बन गर्दै छन् जस्तो भान हुन्थ्यो ।
……………………………………………………….
शिक्षण अस्पतालमा चिकित्सक तथा नर्सहरुको भूमिकामा धेरै सुधार भएको पाईरहँदा पैसा बुझाउने काउन्टर सम्हालेका कर्मचारीको व्यवहार भने झनै छुद्र देखियो । त्रिवि शिक्षण अस्पतालमा यसै पनि बिरामीको चाप हुने भयो, पैसा बुझाउन लामो लाइन बसेर बिरामी तथा तिनका आफन्तप्रति उनीहरुको व्यवहार अत्यन्त छुद्र देखिन्थ्यो ।
अस्पताल प्रशासनले यसखालका गतिविधिलाई सच्याउने नीति लिनु पर्छ । यस्तै आकस्मिक सेवामा जनशक्ति थप गर्नु पर्ने देखिन्छ ।
स्वास्थ्य बीमाका काउन्टरहरु थप गर्नु पर्ने देखिन्छ । भिड व्यवस्थापनका लागि काउन्टरहरु थप गर्नु अनिवार्य नै छ ।
अस्पताल बसाईका क्रममा भेट भएका डेपुटी डाइरेक्टर प्राडा पवनराज चालिसेले उठाएका गुनासाका विषयमा आफूहरु जानकार रहेको र त्यसलाई सुधार गर्ने दिशामा बर्तमान नेतृत्व लागि सकेको बताए ।
‘तीन चार महिनामा अझ केही फरक पाउनु हुन्छ । हामी सुधारका लागि योजनावद्ध रुपमा काम अघि बढाउँदै छौँ,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]







