‘कानून विपरित औषधीको मूल्य बढाइएको’ विषयमा छानविन गर्न प्रधानमन्त्री कार्यालयले बनायो उच्चस्तरीय नयाँ समिति

448
Shares

 

काठमाडौँ, ९ बैशाख । औषधी व्यवस्था विभागका तत्कालिन महानिर्देशक नारायणप्रसाद ढकालले प्रचलित कानूनले तोकेको प्रक्रिया पुरा नगरी औषधीको मूल्य बढाएको भन्ने आरोपको सम्वन्धमा छानविन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उच्चस्तरीय नयाँ समिति गठन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार औषधी विज्ञ समेत रहेका प्राडा बालमुकुन्द रेग्मीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो । सो समितिले केही दिन अघि बाट नै काम सुरु गरेको बुझिएको छ ।

यसअघि २६ चैतमा स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेकी थिईन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आएको निर्देशन पछि गठित उक्त समितिलाई छानविन गरी ७ दिन भित्र प्रतिवेदन बुझाउन भनिएको थियो । तर सो अवधीसम्म उक्त समितिलाई कार्यारम्भ गर्न पत्र नै दिइएन ।

‘पुरानो समितिका कतिपय सदस्यहरु सो कामका उपयुक्त नभएको भन्ने गुनासो आएको, कतिपय सदस्यहरु समितिमा बस्न नचाहेको र अलमल गरेको जस्तो देखिएपछि प्रधानमन्त्री कार्यालयबाट नै शक्तिशाली समिति गठन भएको हो । काम एकदमै गोप्य ढंगले तिब्रगतिमा बढाइएको छ । केही दिनमै रिपोर्ट सार्वजनिक हुन्छ । प्रधानमन्त्री कार्यालय अहिले समितिमा को को छन् भनेर  समेत सार्वजनिक गर्ने पक्षमा छैन,’ स्रोतले भन्यो ।

यसअघि गत २४ चैतको प्रतिनिधि सभा बैठकमा सांसद राजीव खत्रीले विभागका महानिर्देशक ढकालको नाम नै किटान गरी प्रचलित कानूनी प्रक्रिया पुरा नगरी औषधीको मूल्य बृद्धि गरेको र सो क्रममा अर्बौ रकमको अपचलन भएको ठोकुवा गरेका थिए ।

खत्रीले संसदमा चर्को रुपमा विषय प्रवेश गराएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २६ चैत विहान महानिर्देशक ढकाल र खत्रीलाई बोलाई सोधपुछ गरेको थियो ।

सोही दिन दिउसो स्वास्थ्य मन्त्री मेहताले ढकाललाई विभागको महानिर्देशको भूमिकाबाट हटाई मन्त्रालयमा हाजिर हुन पत्राचार गरेकी थिईन । विभागको नेतृत्व भने अहिले निमित्त महानिर्देशक बनेर शिवानी खड्गीले सम्हालेकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “‘कानून विपरित औषधीको मूल्य बढाइएको’ विषयमा छानविन गर्न प्रधानमन्त्री कार्यालयले बनायो उच्चस्तरीय नयाँ समिति

  1. सिहदरबार वैध्यखाना जस्तो पुरानो संस्था हुँदाहुदै यो संस्था लाई आयुर्वेदिक औषधि को दर्ता तथा नविकरण गर्न न दिनु भनेको बैध्यखाना को मान मर्यादा लाई चोट पुर्याउनु जस्तो लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *