बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको क्यान्टिनले पायो खाद्य स्वच्छतामा ‘अति उत्तम’ श्रेणी

12
Shares

मोरङ, ९ बैशाख । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटल भित्र क्यान्टिनका रूपमा सञ्चालित बिराट किचनले खाद्य स्वच्छता स्तरमा सर्वोच्च श्रेणी (क) अर्थात् ‘अति उत्तम’ हासिल गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मंगलबार गरेको अनुगमनका क्रममा बिराट किचन उक्त श्रेणीमा परेको हो। होटल एसोसिएसन कोशी प्रदेशका सचिव पूर्ण प्रसाद भट्टराईको संयोजकत्वमा गठित ७ सदस्यीय टोलीले अनुगमन सम्पन्न गरेको थियो।

टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी प्रकृति वस्ती, राष्ट्रिय उपभोक्ता संघकी शोभा निरौला, बिराटनगर महानगरपालिकाका कृष्णप्रसाद पोखरेल, पर्यटन व्यवसायी सरोज पौडेल, बुढीगंगा गाउँपालिका–२ की वडा सदस्य मिना विश्वास र सहायक हवलदार सुजन प्रधान सहभागी थिए।

अनुगमनका क्रममा कार्यालयकी अप्सरा संग्रौला, हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत प्रमेशराज देवकोटा तथा बिराट किचनका सञ्चालक रविकान्त साहको पनि उपस्थिति रहेको थियो।

अनुगमन संयोजक भट्टराईले बिराट किचनमा खाद्य गुणस्तर, सरसफाइ तथा व्यवस्थापनका सबै पक्ष अत्यन्त सुदृढ पाइएको बताए ।

कार्यालयले खाद्य स्वच्छता स्तरलाई (क) अति उत्तम, (ख) उत्तम, (ग) सन्तोषजनक र (घ) सामान्य गरी चार वर्गमा वर्गीकरण गर्ने गर्दछ। यसमध्ये ‘अति उत्तम’ श्रेणी प्राप्त गर्नु उल्लेखनीय उपलब्धि मानिएको छ।

बिराट किचनले बिरामी, तिनका परिवार, अस्पताल कर्मचारी तथा आगन्तुकलाई ताजा, पौष्टिक र स्वादिष्ट भोजन उपलब्ध गराउँदै आएको छ। हाल यहाँ ६ जना विशेषज्ञ डाइटिसियन कार्यरत छन्। क्यान्टिन सञ्चालक रविकान्त साहका अनुसार प्रत्येक बिरामीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया र व्यक्तिगत रुचिअनुसार खाना योजना तयार गरिन्छ।

हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत प्रमेशराज देवकोटाले अस्पताल परिसरभित्रै सुलभ मूल्यमा गुणस्तरीय भोजन उपलब्ध भएकाले बाहिर जानुपर्ने आवश्यकता नपर्ने बताए। अन्तर्राष्ट्रिय स्वच्छता मापदण्डको पालना गर्दै आएको बिराट किचनले यस उपलब्धिमार्फत अस्पतालभित्रको खानपान सेवामा नयाँ मापदण्ड स्थापित गरेको उनले उल्लेख गरे।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *