अन्तर्वार्ता :
हामी राजनीतिबाट टाढा, पेशागत र पारदर्शी एनएमए निर्माण गर्न चाहन्छौं: डा. अरुण शाही
नेपाल चिकित्सक संघको यसअघि रोकिएको निर्वाचन सुरु हुँन तीन दिन मात्रै बाँकी छ । संघको निर्वाचन समितिले उपत्यका बाहिर बैशाख ४ र ५ गते तथा काठमाडौँ उपत्यकामा बैशाखको १८ र १९ गतेका लागि निर्वाचनको मिति तोकेको छ । यस पटक युवा मेडिकल अंकोलोजिष्ट समेत रहेका डा. अरुण शाहीले टिम मंगलबाट संघको उपाध्यक्ष तथा बाग्मती प्रदेश संयोजक पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन प्रचार प्रसारकै दौरानमा रहेका डा शाहीसंग नेपाली हेल्थले उनको उम्मेदवारी तथा एजेण्डा केन्द्रीत सम्छिप्त कुराकानी गरेको छ । हेरौ कुराकानीको सारसंक्षेप :

आज १ बैशाख अर्थात नयाँ वर्षको दिन, सर्बप्रथम यहाँलाई नयाँ वर्षको शुभकामना ! निर्वाचनमा सहभागी भईरहेका बेला यहाँले आज दिने सन्देश के छ ?
धन्यवाद ! मेरो तर्फबाट पनि यहाँलाई अनि सम्पूर्ण अग्रज तथा प्रिय सहकर्मीहरूमा हार्दिक नमस्कार। नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा जनकपुरधाममा जानकी माताको आशिर्वाद लिन पाउनु मेरो लागि प्रेरणादायी क्षण रह्यो। यसले आगामी जिम्मेवारी पूरा गर्ने मलाई उर्जा दिईरहेको छ । आजको सन्दर्भमा चिकित्सक पेशा केवल सेवा मात्र होइन, आफ्नो अस्तित्व, गरिमा र विश्वसनीयता जोगाउने चुनौती पनि हो। हामीले जनतासँगको विश्वास अझ बलियो बनाउँदै, आफ्नो हक, अधिकार र सुरक्षाका लागि पनि दृढ उभिनुपर्ने समय आएको छ भन्ने लाग्छ ।
नेपाल चिकित्सक संघको निर्वाचनमा तपाईँको उम्मेदवारी किन ?
मेरो उम्मेदवारी पदका लागि होइन, पेशा र सहकर्मीप्रतिको जिम्मेवारीबाट आएको निर्णय हो। म प्रत्येक चिकित्सकलाई सम्मानित, सुरक्षित र सुन्ने वातावरण दिलाउने अठोटका साथ आएको हुँ।
खारेजीमा परेको उम्मेदवारी फिर्ता लिएर निर्वाचनमा होमिनु भएको छ, कस्तो रेस्पोन्स पाउनु भएको छ ?
उम्मेदवारी खारेजीदेखि पुनःस्थापनासम्मको यात्रा सजिलो थिएन। तर यही संघर्षले मलाई अझ निडर र परिपक्व बनाएको छ।
मैले आफ्नो मात्र होइन, इमानदार चिकित्सकहरूको अधिकारका लागि आवाज उठाएको हुँ । मेरो यो कदमलाई चिकित्सक समुदायले एकदमै सकारात्मक ढंगले लिएको बुझेको छु । मैले सही कदम चालेको कुरा त अदालतबाट समेत प्रमाणित भयो । बास्तवमा, मेरो मात्रै होईन यसले धेरै हाम्रा उम्मेदवार साथीहरुलाई पनि न्याय गर्यो ।
निर्वाचन घोषणा पत्रमा तपाईँको एउटा एजेण्डा NMA सुधार गर्ने गर्ने भन्ने रहेछ ? कसरी सुधार गर्न सकिन्छ ?
ठिक भन्नु भयो, NMA सुधारका लागि मेरो तीन स्पष्ट प्रतिबद्धता छन्:
•NMA को गरिमा र विश्वास पुनःस्थापना
•प्रत्येक चिकित्सकको आवाज बन्ने
•योग्यता र मेहनतको सम्मान हुने प्रणाली निर्माण
हामी राजनीतिबाट टाढा, पेशागत र पारदर्शी NMA निर्माण गर्न चाहन्छौं।
चिकित्सकहरूको हक–हितका कुरा पनि रहेछ ? चिकित्सकहरूको हक हितका लागि खासमा तपाईँले के गर्नुहुन्छ ?
हामी कुरा होइन काममा विश्वास गर्दछौँ । धेरै लम्बेतान कुरा गरेर पनि काम छैन । स्पष्ट शब्दमा भन्नु पर्दा आज पनि धेरै चिकित्सकहरू असुरक्षित महसुस गर्छन्।
त्यसैले:
•Doctor’s Act कार्यान्वयनका लागि दबाब
•कानुनी सुरक्षा र सहारा (legal support)
•merit-based अवसर सुनिश्चित
यी हाम्रो प्राथमिकता हुनेछ ।
तपाईँहरुले भन्नु भएको छ, “Agenda for Change”, यो के हो ? यसबारेमा बुझाई दिनुहोस न ।
हामी NMA लाई सबैका लागि बनाउने लक्ष्य राखेका छौँ । त्यसमा केही निम्नानुसारका कामहरु हुनेछन् ।
• Online voting र digital NMA
• Residents र Medical Officers को प्रतिनिधित्व
• जिल्ला स्तरसम्म विस्तार
• Transparent report र accountability
यी कामहरु हुँदै गर्दा NMA मा साच्चिकै परिवर्तन आउने छ ।
अन्त्यमा केही भन्नु छ ?
यो निर्वाचन केवल पदको प्रतिस्पर्धा होइन, हाम्रो पेशाको भविष्य निर्धारण गर्ने अवसर हो। यदि तपाईं इमान्दार, सक्षम र परिवर्तनमुखी NMA चाहनुहुन्छ भने, म तपाईंहरूको साथ र विश्वासको अपेक्षा गर्दछु।
आउनुहोस्, हामी सबै मिलेर सम्मानित र सशक्त नेपाल चिकित्सक संघ निर्माण गरौं। हामी सक्छौँ । यो सम्भव छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 
