गर्भपतन गराउँदा ज्यान गएको घटना : छानविन गर्न काउन्सिलले बनायो समिति

20
Shares

काठमाडौँ, ९ बैशाख । नेपाल मेडिकल काउन्सिलले बुटवलको एक क्लिनिकमा गर्भपतनका क्रममा भएको मृत्युको विषयमा छानविन गर्न समिति गठन गरेको छ ।

काउन्सिल सदस्य डा सम्राट पराजुलीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो । समितिमा विज्ञ चिकित्सक, कानूनविद, नागरिक समाजका प्रतिनिधि समेत रहेको बताइएको छ ।

उक्त समितिलाई जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीको समन्वयमा स्थलगत निरीक्षण गरी प्रतिवेदन उपलव्ध गराउन भनिएको छ । काउन्सिल रजिष्ट्रार डा सतिशकुमार देवले प्राप्त उजुरी र विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरका आधारमा छानविन समिति गठन गरिएको स्पष्ट पारे ।

‘हाम्रो काउन्सिलको ब्यावसायिक आचरण तथा स्वास्थ्य समितिले बुटवल घटनाको छानविनका लागि तत्काल विज्ञसहितको समिति गठन गरी परिचालन गर्ने निर्णय गरेको थियो,’ रजिष्ट्रार डा. देवले भने ।

खास घटना के थियो ?
मृतक गर्भवती पाल्पा ख्याहाकी २९ वर्षीया गीता पाण्डे हुन् । मृतकका श्रीमान प्रकाश पाण्डेका अनुसार १२ हप्ताको गर्भ रहेकी गीता नियमित परीक्षणका लागि चैत २७ गते खत्री नर्सिङ होम पुगेकी थिइन्। त्यहाँ भिडियो एक्स(रे गर्दा भ्रुण असामान्य देखिएको भन्दै स्वास्थ्यकर्मीले गर्भपतनको सल्लाह दिएका थिए।

सोही अनुसार वैशाख ५ गते उनीहरू नर्सिङ होम पुगेका थिए, तर त्यहाँबाट उनीहरूलाई औषधि खरिद र थप प्रक्रियाका लागि ‘लोकेसन कार्ड’ दिएर जोनल फार्मेसीमा पठाइएको थियो।

जोनल फार्मेसीमा १६ हजार शुल्क लाग्ने भन्दै दुई हजार बैना लिएर गर्भपतनका लागि औषधि दिइएको थियो। औषधि सेवनपछि स्वास्थ्य अवस्था जटिल बनेकी गीतालाई इन्दुलेखा क्लिनिक पुर्‍याइएको थियो, जहाँ उनी अचेत भएकी थिइन्। अचेत अवस्थामै लुम्बिनी सिटी अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

यता विरोध बढ्दै जाँदा प्रहरीले खत्री नर्सिङ होमका सञ्चालक डा डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा सतिष रुपाखेतीलाई नियन्त्रणमा लिएर अ अनुसन्धान अघि बढाएको छ । उनीहरु बाहिर असुरक्षित भएको भन्द प्रहरीकोमा पुगेका बेला नियन्त्रणमा लिइएको हो ।

घटनापछि मंगलबार नै परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले खत्री पोलिक्लिनिककी सन्ध्या बस्नेत, जोनल क्लिनिककी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका सञ्चालक खगेन्द्र पाण्डेलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका तीन जनालाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ भने आफैं सम्पर्कमा आएका चिकित्सकहरूमाथि सोधपुछ र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *