स्वास्थ्य मन्त्री मेहताको अब ध्यान जाओस्, नयाँ वर्ष २०८३ सालको शुभकामना !

72
Shares

काठमाडौँ, १ बैशाख । आज १ बैशाख अर्थात नयाँ वर्षको पहिलो दिन। बिक्रम संम्बत २०८२ साललाई विदा गरेर आजबाट नेपालमा बिक्रम सम्वत २०८३ साल सुरु भएको छ । यस अवसरमा यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना ।

विदाई भएको वर्षमा स्वास्थ्य क्षेत्रमा के-के भयो ? हामी सबैलाई थाहा छ । यस बारेमा पछि  पछि समीक्षा हुँदै जाला । तर, अहिले भने नयाँ वर्षमा गर्नै केही कामहरुका बारेमा चर्चा गर्न सान्दर्भिक देखिन्छ ।

बर्षको पहिलो दिन आशाका कुराबाट सुरु गरौँ ,

देशमा भर्खरै नयाँ सरकार गठन भएको छ । नयाँ मात्रै होईन, यसपटक जनताले स्थिर सरकार बनाउन मतदान गरेका छन् ।  निर्वाचनमा नतिजा सोही किसिमले आएको छ । तसर्थ राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहले नेतृत्व गरेको यो नयाँ सरकार अब पुरा अवधी टिकेर इतिहास रच्नेछ भन्नेमा विश्वस्त रहौँ ।

युवाले नेतृत्व गरेको यो नयाँ सरकारले जनअपेक्षा अनुरुप काम गरेर नतिजा दिन सफल बनोस नयाँ वर्षको शुभकामना ।

………………………………………………………………………

नयाँ सरकार गठन भएकै दिन देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय चुनौतीहरु थपिएका छन् ।

निर्वाचनले पुराना र ठूला भनिएका दललाई बढारेर सानो साइजमा खुम्च्याइदिएको अवस्था छ । दल मात्रै होईन बर्षौ देखि शासन सत्ताको भोग गर्दै आएका नेताहरु पनि आउट भएका छन् । यसले नयाँ पुस्तालाई काम गर्ने अवसर त दिएको छ तर पुरानाले डिस्टर्ब गर्ने सम्भावना पनि उत्तिकै रहन्छ । त्यसले ख्याल गरेर अघि बढ्नु जरुरी छ ।

उता पश्चिम एसिया (ईरान, अमेरिका-इजरेल) युद्धको असर अहिले दिन दिन चर्को हुँदै गएको छ । युद्धको क्षति उता प्रत्यक्ष भए पनि त्यसको असर यहाँसम्म उत्तिकै पुगेको छ । भान्साको ग्याँस देखि बिरामीले खाने औषधीसम्म, यातायातका ईन्धन देखि खाडी मुलुकको रोजगारी र रेमिट्यान्सलाई नराम्ररी असर गरेको छ । त्यसकै असरले देशमा मूल्यबृद्धिले आकास छुन थालेको छ । बालेन सरकारले यो चुनौतिपूर्ण अवस्थाको कसरी व्यवस्थापन गर्छ हेर्न बाँकी छ ।

सरकार नयाँ शैली पुरानै ?

सरकार गठन भएको अढाई साता नाघ्यो । युवा जोशका साथ सरकार फास्ट ट्र्याकमा अघि बढ्न खोजेको देखिन्छ । तर हतार गर्न खोज्दा ट्रयाक बाहिर जाने हो कि भन्ने पनि उत्तीकै संसय देखिन्छ ।

अघिल्ला सरकारले गरेका कामको समीक्षा नगर्ने र नयाँ काममा हात हाल्ने प्रबृत्ति अहिले पनि देखिन थालेको छ । यसले ठूलो परिवर्तनको अपेक्षा गरेका नागरिकले यो पनि उही पाराको हो कि भन्ने संसय पैदा गर्न थालेको छ । यद्धपी अहिल्यै धेरै सोच्नु पनि गलत हुन सक्छ ।

अब के गर्ने ?

स्वास्थ्य मन्त्री निशा मेहताले काज फिर्ताबाट सुरु गरेको स्वास्थ्य क्षेत्र शुद्धिकरण अभियानबाट कति सफल होला ? त्यो त आउने दिनले बताउने छ । तर अब उनको ध्यान स्वास्थ्य बीमा सुधारमा जानु पर्छ । स्वास्थ्य बीमाकै कुरा गर्दा  आफैले सदस्य नियुक्त गर्न लगाउने, विवादमा परेपछि मैले होईन भन्ने, दोष सबै कर्मचारीकै हो भन्ने, उनीहरुलाई स्पष्टीकरण सोध्ने जस्ता शैली अब पुरानो भईसक्यो ।  कर्मचारीलाई तर्साएर होइन, काम गरौँ गरौँ भन्ने बनाएर स्वास्थ्य बीमा कार्यक्रमको सुदृढिकरणमा लाग्नु पर्छ ।

सेवा प्रदायक ठूला सरकारी अस्पतालले समेत सोधभर्ना नपाएको भन्दै सेवा रोकेको अवस्था छ, यसलाई कसरी सुल्झाउने ?  बीमा भित्रका बदमासी कसरी न्युनिकरण गर्ने आदि कुरामा अब विशेष ध्यान दिनु पर्छ ।

विगतमा स्वास्थ्य बीमा सुधारका लागि धेरै समिति बने, विज्ञहरुले यस बारेमा धेरै सुझाव दिएका छन् तर त्यो प्रतिवेदन दराजमा थन्किएको अवस्था छ । जेनजी आन्दोलनले भवनसंगै डढ्यो भन्ने पनि प्रश्न उठ्ला तर एक प्रति त बुझाउनेहरुले राखेकै हुन्छन् । त्यहाँबाट ल्याएर अध्ययन गरेर राम्रा सुझावको कार्यान्वयन गर्न अघि बढ्नु पर्छ ।

औषधीको समस्या

पूर्व पत्रकार समेत रहेका एक जना सांसदले संसदमा कुर्लेको अर्कोदिन औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई काजमा मन्त्रालयमा हाजिर हुन भनियो । कानून विपरित औषधीको मूल्य बढाएको आरोपको छानविनका लागि समिति गठन गरियो, समितिलाई प्रतिवेदन बुझाउन सात दिनको म्याद दिईयो । तर पाँच दिन पुग्दासम्म सो समितिलाई चिठी पुगेको छैन । कहिले देखि समिति छानविनमा लाग्ने हो र प्रतिवेदन बुझाउने हो ।

तर ढकाललाई मन्त्रालय तान्दा विभागमा उनको जिम्मेवारी कसैलाई दिइएको छैन । ठ्याक्कै यतिवेलाको समय विभाग नेतृत्व विहीन हुँदा त्यसको असर आम जनतालाई पर्न सक्ने देखिन्छ ।

कसरी ?

पश्चिम एसियामा भईरहेको युद्धको असर पेट्रोलिय पदार्थमा मात्रै होइन पेट्रो केमिकलको आपूर्तिमा पनि भईरहेको छ । औषधीका लागि चाहिने कच्चा पदार्थको मूल्य दिनानुदिन बढी रहेको छ । स्वदेशी औषधी उत्पादक देखि औषधी आयातकर्ताहरुले यो अवस्थालाई सहजीकरण गर्न सरकारले विशेष भूमिका खेल्नुपर्ने बताउँदै आएका छन् ।

कच्चा पदार्थ मात्रै होइन अब विदेशबाट आउने तयारी औषधी समेतको मूल्य बढ्न सक्ने देखिएको छ । आयात अनुमति पत्र, नविकरण जस्ता धेरै कामहरु पाँच दिन देखि थन्किएका छन् । स्वास्थ्य मन्त्री मेहताले औषधी क्षेत्रमा देखिएका विकृतिलाई हटाउने कुरा भन्दै गर्दा बर्तमान परिस्थितिलाई पनि बुझेर अघि बढ्नु पर्ने देखिन्छ ।

सांसद/नेता भेट्न कम गरौँ
मन्त्री मेहताको कार्यकक्षमा पदवहालीकै दिन देखि असहज रुपमा सांसद तथा नेताहरुको भीड बढेको छ । टहरोमा रहेको मन्त्रीको सचिवालय त्यसै पनि साँघुरो छ । तर त्यसमाथी अस्वभाविक भीडले उनलाई दैनिक काममा अफ्टेरो परेको छ ।

उनको पार्टी रास्वपाले अनावश्यक रुपमा भेटघाट गर्ने काम नगरौँ भनेर दुई पटक विज्ञप्ती जारी गरेपनि त्यसले समाधान दिएको छैन ।

त्यसैले मन्त्री मेहताले आफ्नो सचिवालयलाई कडाई गरी भेटघाटको समयलाई व्यवस्थित गर्ने र काममा फोकस हुने गर्नुपर्छ ।

पुराना प्रतिवेदनको खोजी गरौँ

छोटा अवधीको सरकारका मन्त्रीहरुले भरपुर मात्रामा बनाउने भनेको समिति हो । अघिल्ला मन्त्री प्रदीप पौडेल र अन्तरिम सरकारका मन्त्री डा सुधा गौतम शर्माकै कार्यकालका समिति गणना गर्ने हो भने पनि १०० कै हाराहारीमा साना ठूला समिति बने होलान् । ती समितिहरुले साना ठूला प्रतिवेदन बनाएका छन्, बुझाएका पनि छन् ।

तर, ती प्रतिवेदन छन् कि छैनन् ? भए कहाँ छ को संग छ ? त्यसको खोजी गर्ने र अध्ययन गरी राम्रा प्रतिवेदनको कार्यान्वयन तर्फ अघि बढौँ । यसले बाटो सुल्टो हुनेछ । फेरी पनि नयाँ समिति बनाउने र सुझाव माग्ने तिर लाग्यौ भने समय र पैसाको बर्बादी मात्रै हो ।

बजेट बढाउने प्रयास गरौँ

अघिल्लो सरकारले बजेट सिलिङ घटाएर पठाएको छ । स्वास्थ्यमा घटेको बजेटले स्वास्थ्य क्षेत्रमा कसरी सुधार होला । त्यसैले बजेट बढाउने काम गरौँ । आउने बजेट तलव भत्ता र उपचारमा बढी खर्च हुन्छ । स्वास्थ्य अनुसन्धान, रोगको रोकथाम न्युनिकरणका लागि जनचेतना जगाउनका लागि पनि अबको बजेट हिस्सा छुट्याउँ ।

बर्तमान सरकारले दुई दिन सार्वजनिक विदा दिने घोषणा कार्यान्वयनमा ल्याईसकेकोछ । तर स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमा यो सुविधा कसरी लागू हुन्छ भन्ने अझै अलमल छ । मन्त्री मेहताले यसलाई सकेसम्म छिटो व्यवस्थापन गर्नु पर्ने आवश्यकता छ ।

तलव सुविधा समान गरौँ
सरकारी अस्पतालमा काम गर्ने चिकित्सकहरुको तह एउटै भए पनि सुविधा फरक फरक छ । ९ ५ को डिउटी गर्ने वीर अस्पतालको चिकित्सकले ५० प्रतिशत भत्ता पाउँदा नेपालगञ्जको भेरी अस्पतालमा काम गर्ने सोही तहको चिकित्सकले ५० प्रतिशत भत्ता पाउँदैन ।

मोफसलमा सुविधा झन् धेरै हुनुपर्नेमा थोरै हुँदा चिकित्सक पठाउन र टिकाउन समेत गाह्रो भइरहेको अवस्था छ । यस तर्फ पनि ध्यान जानुपर्छ ।

अन्त्यमा,

विसं २०८३ सालमा स्वास्थ्य क्षेत्रले आमूल परिवर्तनको अनुभूति गर्न पाओस् सबैलाई नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना !

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *