गोकर्णेश्वरमा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइँदै

24
Shares

काठमाडौं, ३० कात्तिक । प्रतिजैविक औषधिको जथाभावी प्रयोगबाट बढ्दै गएको प्रतिरोधको जोखिमबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गोकर्णेश्वर नगरपालिकामा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह विभिन्न कार्यक्रम गरी मनाइने भएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालसँग सम्बन्धित प्रतिजैविक प्रतिरोध सचेतना समूह (एएमआर–एनएमसीटीएच) र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा नोभेम्बर १८ देखि २४ (मङ्सिर २ देखि ८ गते) सम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको हो।

हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको संयुक्त आह्वानमा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइँदै आएको छ।

प्रतिजैविक प्रतिरोधको बढ्दो चुनौतीबारे विश्वव्यापी सचेतना फैलाउनुका साथै यसको रोकथाम र नियन्त्रणका लागि सबै सरोकारवालालाई जिम्मेवार बनाउन सप्ताह मनाउने गरिएको हो।

प्रतिजैविक प्रतिरोध अहिले विश्वकै गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। नेपालमा समेत यसका कारण प्रत्येक वर्ष १९ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएका छन्।

चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक औषधि सेवन गर्ने, आवश्यकताभन्दा बढी वा गलत तरिकाले औषधि प्रयोग गर्ने तथा औषधिको जथाभावी बिक्रीवितरण गर्ने प्रवृत्तिले यो समस्या थप जटिल बन्दै गएको छ।

यसै अवस्थालाई मध्यनजर गर्दै एएमआर–एनएमसीटीएच र गोकर्णेश्वर नगरपालिकाले समुदायस्तरमै प्रतिजैविक औषधिको उचित प्रयोगबारे जानकारी फैलाउने, अनावश्यक एन्टिबायोटिक सेवनबाट हुने जोखिमबारे सचेत गराउने तथा प्रतिजैविक प्रतिरोध रोकथामका उपायबारे जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न लागेका हुन्।

यस वर्षको सप्ताहको नारा ‘एक स्वास्थ्य, एक अभियान : प्रतिजैविक प्रतिरोध रोकथामका लागि अहिले नै कदम चालौँ’ रहेको छ।

मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएकाले प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि यी तीनै क्षेत्रमा समन्वय र सहकार्य आवश्यक रहेको सन्देश नाराले दिएको छ।

समुदायस्तरमा सञ्चालन हुने यस्ता कार्यक्रमले एन्टिबायोटिक औषधिको जिम्मेवार प्रयोग गर्ने बानी विकास गर्न, अनावश्यक औषधि सेवन निरुत्साहित गर्न र प्रतिजैविक प्रतिरोधको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने एएमआर–एनएमसीटीएच समूहले जनाएको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *