‘कोहलपुर’ घटनाको निष्पक्ष छानविन गर्न एनसीडीएको माग
'बिरामीको सेवामा समर्पित औषधि व्यवसायीहरूको व्यक्तिगत तथा पेशागत सुरक्षामा ध्यान दिईयोस्'

काठमाडौं, २१ असोज । बाँकेको कोहलपुरमा सञ्चालित थापा मेडिकलका सञ्चालक गणेशबहादुर थापामाथि कुटपिट तथा गालीगलौज भएको घटनाप्रति नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एनसीडीएले घटनाको निष्पक्ष र सूक्ष्म छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।
गत १७ असोजमा कोहलपुर नगरपालिका–११ मा सञ्चालित थापा मेडिकलमा एक समूह प्रवेश गरी सञ्चालक थापामाथि कुटपिट, गालीगलौज तथा दुर्व्यवहार गरेको थियो।
उक्त घटनालाई व्यक्तिगत तथा व्यावसायिक चरित्रमा आँच पु¥याउने किसिमले सामाजिक सञ्जालमार्फत समेत सम्प्रेषण गरिएको भन्दै एनसीडीएले आपत्ति जनाएको छ।
कानुनविपरीत हुने जुनसुकै गतिविधिको अनुसन्धान, अभियोजन तथा कारबाही गर्ने व्यवस्था प्रचलित कानुनले सुनिश्चित गरेको उल्लेख गर्दै एनसीडीएले सम्बन्धित व्यवसायीबाट कुनै गलत कार्य भएको भए कानुनबमोजिम निष्पक्ष छानबिन र अनुसन्धानबाट सत्यतथ्य पुष्टि गरी आवश्यक कारबाही गर्नुपर्ने जनाएको छ।
तर, कसैले लगाएको आरोपका आधारमा अनुसन्धानबाट पुष्टि नभइसकेको विषयलाई लिएर कानुनी शासनको उपहास हुने गरी व्यवसायीमाथि भौतिक आक्रमण गर्नु निन्दनीय भएको संघको भनाइ छ। यस्ता गैरकानुनी गतिविधिको संघले घोर विरोध गरेको जनाएको छ।
घटनाले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा दिनरात बिरामीको सेवामा समर्पित औषधि व्यवसायीहरूको व्यक्तिगत तथा पेशागत सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको समेत एनसीडीएले उल्लेख गरेको छ ।
‘पीडितलाई न्याय दिलाउनु सरकारको महत्वपूर्ण दायित्व हो भने प्रत्येक नागरिकको जीउधनको रक्षा गर्नु पनि सरकारकै उत्तिकै महत्वपूर्ण जिम्मेवारी हो,’ एनसीडीएले विज्ञप्तिमार्फत भनेको छ।
एनसीडीएले घटनाको निष्पक्ष, सूक्ष्म तथा न्यायोचित अनुसन्धान गरी व्यवसायीमाथि गैरकानुनी रूपमा भएको भौतिक आक्रमण तथा दुर्व्यवहार गर्ने जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सरकार तथा स्थानीय प्रशासनसमक्ष जोडदार माग गरेको छ।
विज्ञप्तीमा एनसीडीएका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवाल र केन्द्रीय महासचिव श्रीधर खनालले हस्ताक्षर गरेका छन्।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


