संसदको रोष्टममा उभिएर जब डा. तोसिमा कार्कीले भनिन्, ‘म भित्र मरिसकेको डाक्टर कसले ब्युँत्याइदेला ?’

काठमाडौँ, १२ असोज । सोमबार प्रतिनिधि सभा बैठकमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफल चलिरहँदा सांसद डा. तोसिमा कार्कीले कवितात्मक रुपमा आफ्नो धारणा राखेकी छन् ।
उनको कवितात्मक धारणा यस्तो छ :
उत्तेजित भिड ! हातपात र ज्यान मार्ने धम्कि!!
हत्याराको ट्याग! अनि अपराधी सरि हतकडी !!
यो चक्रब्युहमा अड्किएको मेरो पेशा!
यो डरमा त्रसित काँपिरहेको मेरो हात !!
घाँटी निमोठ्न खोजिदैछ मेरो सिपको !
मेरो पेशाको ! मेरो साहसको !!
जीवन भर आर्जेको ज्ञान सीप,
बिरामीको उपचारमा खर्चने म चिकित्सक।
न त भगवान हुँ म,
न दानव अपराधी हुँ,
मामुली मानव म, एक स्वास्थ्यकर्मी !
खुशी हुन्छु म,
जब मैले हेरेका बिरामी स्वस्थ मुस्कान सहित घर फर्किन्छन् ,
तर केही रोग, केही समस्या यति जटिल हुन्छन् कि विज्ञान पनि नतमस्तक हु्न्छ।
सयौँ कोशिस बाबजुद मृत्यू रोक्न सकिँदैन।
जब आफ्नो बिरामी आफै सामु अन्तिम श्वास लिदै हुन्छ
म जिउन बिर्सन्छु, म हाँस्न, श्वास फेर्न बिर्सन्छु!
याद हुन्छ त केवल “म कसरी यो धढ्कन फर्काउँ”?
म कसरी यो ज्यानमा श्वास प्रस्वास चलाउँ ??
म अथक प्रयास गर्छु !
तर भवितव्य भईदिन्छ!
रुन्छ मन मेरो पनि, दुख्छ मुटु मेरो पनि,
प्रकृतिलाई जित्न सकिन्न जब,
हरेक ज्यानमा प्राण भर्न सकिन्न जब !!
तब अकस्मात आक्रोशित भिड मलाई मुर्दावादको गाथा सुनाउन थाल्छ!
विज्ञानले नसकेको, प्रकृतिले नथेगेको, ज्यानको
मलाई हत्याराको ट्याग लाग्छ !!
टाउकोमा बन्दुक तेर्साई “निको पार् नत्र मर्छस्!” भन्दा तिमीले,
आफ्नै ज्यानको लागि भयवित म,
लौ भन अब म उपचार कसरि गरिरहुँ?
आफेँ असुरक्षित म चिकित्सक,
लौ भन, यहि देशमा म कसरी डाक्टर बनिरहुँ ??
तड्पिरहेको तिम्रो बिरामीलाई,
छोएर अब छोइपासो बनुँ कि सिधै नहेरी रिफर गरुँ ???
“हत्यारा”!!
“ज्यानमारा”!!
“मुर्दावाद”!!
“जेल चलान”!!
माफ गर हे देश,
यो सबको लागि म डाक्टर बनेको होईन,
हत्या गर्नकै लागी मैले डाक्टरि पढेको होइन !!
यो साना दुखले अर्जेको लाईसेन्स होईन,
“हत्यारा” नै हुनुथ्यो त बन्दुक बोक्थे, बारुत खेल्थे होला।
साथीभाई खेलिरहँदा म किताबमा मुन्टो किन जोद्थे होला ?
सेतो एप्रोन मेरो नैतिक पोशाक,
आला मेरो गर्वको माला!!
म चिकित्सक,
म एक आम स्वास्थ्यकर्मी ,
भए त मसँग अमरत्व बुटि, मेरा बा-आमा सायद अमर हुन्थे।
म आफू नै सायद अमर हुन्थे।
तर डर लाग्छ मलाई मृत्यू सँग,
हो, मलाई डर लाग्छ तिमीले ल्याउने आक्रोषित भिड सँग,
सबसे बढि ,डर लाग्दैछ मलाई,
आफूँ भित्रको, डाक्टरको, मृत्युसँग।
त्यसैले सरकार, आग्रह छ मेरो ,
यो विधेयक संसोधन गरिदेऊ,
सजाय थप्ने मात्र होईन, समाजको सोचको अपरेसन गरिदेऊ,
आम मानिसले स्वास्थ्यकर्मीलाई हेर्ने नजर फेरिदेऊ!!
हर मृत्यूलाई लापरवाही सोच्न छोडिदेऊ!
अस्पतालहरुलाई शान्तिक्षेत्र घोषणा गरिदेऊ,
अस्पतालमा हुलदङ्गा तोडफोड निषेध गराईदेऊ!!
बरु गल्ति नै भए मेरो, स्पष्ट छानबिन गरि सजाय सुनाईदेऊ!!
तर,
हचुवाको भरमा, भिडको लहडमा,
विना अनुसन्धान
मलाई हत्यारा नभनिदेऊ!!
बिन्ती उपचाररत मेरा अन्य बिरामीलाई नतर्साईदेऊ!!
याद राख,
जुन दिन साँच्चै म भित्रको डाक्टर मर्नेछ ,
सायद म कुनै बिरामी हेर्ने छैन,
सायद म कुनै बिरामी छुने छैन,
त्यस दिन म त बाँचुला,
तर,
म भित्र मरिसकेको डाक्टर कसले ब्युँत्याइदेला ??
अनि जुन दिन म जस्ता “म”हरु भित्रका डाक्टरहरु सधैँको लागी मर्नेछन्,
जुन दिन म जस्ता “नेक” डाक्टरका हातहरु सधैँको लागि काँप्नेछन्,
जुन दिन म जस्ता देशप्रेमी डाक्टरहरुले देश छाड्नेछन्,
हे देश, मलाई डर लाग्छ याहाँ कति बिरामीहरु बिना उपचार मर्नेछन्…….!!!
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



