२५ वर्षको सफलता कर्मचारीसंग साझा गर्दै क्वेष्टले वीरगञ्जमा मनायो रजत जयन्ती

क्वेष्टका सञ्चालकका क्यामेष्ट्री अनुकरणीय : सांसद रहबर अन्सारी
0
Shares

वीरगञ्ज ४ असोज । स्थापनाको साढे दुई दशकमै नेपालको ‘नम्बर वान’ औषधी कम्पनीको सूचीमा आफूलाई उभ्याएको क्वेस्ट फर्मास्युटिकल्स प्रालिले शनिबार वीरगञ्जमा भव्य समारोहकाबीच रजत जयन्ती मनाएको छ ।

यसअघि भव्य समारोह गत २६ असारका दिन काठमाडौँमा गरेको थियो ।

छातापिपरा, बारामा रहेको उद्योग तथा वीरगञ्ज पर्सामा कर्पोरेट अफिसमा कार्यरत ६०० बढी कर्मचारीको सम्मानमा क्वेष्टले वीरगञ्जमा विशेष समारोह गरेको हो ।

सन् १९९९ मा स्थापना भई सन् २००१ देखि औपचारिक रुपमा उत्पादन सुरु गरेको यस कम्पनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गुड म्यानिफ्याक्चरिङ प्राक्टिस (जीएमपी)अनुरुप औषधी उत्पादन गर्दै आएको छ ।

‘हामी विगत २५ वर्ष देखि गुणस्तरीय सुरक्षित र नवीन औषधीको उत्पादन र वितरणमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका छौँ । अनुसन्धान तथा विकास (आरएण्डडी) मा निरन्तर लगानी गर्दै नेपालमै पहिलो पटक सफ्ट जेलाटिन क्याप्सुल र बाइलेयर्ड ट्याबलेटको प्रविधि भित्रिएको यस कम्पनीले उद्योग तथा व्यवस्थापनका क्षेत्रमा पुरयाएको योगदानको कदर विभिन्न राष्ट्रिय सम्मान समेत प्राप्त गरिसकेको छ,’ क्वेष्टका प्रवन्ध निर्देशक उमेशलाल श्रेष्ठले भने ।

हाल क्वेस्टले १०० भन्दा बढी ब्राण्डेड जेनरिक औषधी उत्पादन गर्दै बार्षिक ३० करोड भन्दा बढी एकाई औषधी बजारमा उपलव्ध गराएको छ । कार्यकारी निर्देशक श्रेष्ठका अनुसार क्वेस्टले नेपालभर हाल १५० भन्दा बढी वितरण साझेदार मार्फत करीव ३० लाख बिरामीसम्म आफ्नो कम्पनीको सेवा पुर्‍याई रहेको छ भने देशको करीव ५ प्रतिशत औषधीको आवश्यकता परिपूर्ति गरिरहेको छ ।

अनुसन्धान, गुणस्तर, उत्पादन तथा मानव स्रोत विकासलाई प्राथमिकता दिदै समान अवसर र व्यवसायिक विकासको संस्कृतिलाई प्रर्वद्धन गर्दै आएको क्वेस्टले आफूकहाँ ६०० बढी कर्मचारीहरु कार्यररहेको जनाएको छ ।

क्वेष्टका सञ्चालकका क्यामेष्ट्री अनुकरणीय : रहबर अन्सारी

प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति समेत रहेका सांसद रहबर अन्सारीले क्वेष्ट फार्मास्युटिकल्सको सफलताको राज सञ्चालकहरुबीचको क्यामेष्ट्री भएको बताए ।

वीरगञ्जमा शुक्रबार रजत जयन्ती समारोहको उद्घाटन गर्ने क्रममा उनले क्वेष्टका चार जना संस्थापक सञ्चालकबीच मिलेको क्यामेष्ट्रीले उद्योगमा गुणात्मक सफलता हात लागेको आफ्नो निस्कर्ष रहेको सुनाए ।

‘उमेश सर, पृथ्वी सर, उत्तम सर र बर्मा सरहरुबीच गुणस्तरीय औषधी उत्पादनका लागि जोडिएको मनका कारण यो सफलता मिलेको हो । यसरी एक अर्काबीच विश्वास रहेर अघि बढेको खण्डमा सफलता सजिलै हात लाग्छ भन्ने उदाहरण पनि उहाँहरु हो,’ उनले भने ।

अन्सारीले वर्तमान सरकार उद्योगीहरुलाई बातावरण बनाउन लागि रहेको भन्दै अघिल्ला सरकारहरुले जस्तो कहिले असाध्यै माया र कहिले असाध्यै घृणा गर्ने काम बर्तमान सरकारले नगर्ने स्पष्ट पारे ।

‘देशमा उद्योग धन्दा, रोजगारी, उत्पादन बढाउन पर्छ भनेर रातदिन लागेका छौँ, यसका लागि निजी क्षेत्र, सरकारबीच सहकार्य आवश्यक छ,’ उनले भने ।

उनले स्वदेशी औषषी उद्योगलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बनाउन स्पष्ट सरकारी नीति, उद्योगमैत्री वातावरण तथा निजी क्षेत्रसँगको प्रभावकारी सहकार्य आवश्यक रहेको समेत बताए । उनले अनुसन्धान, नवप्रवर्तन र निर्यात प्रवर्द्धनमा क्वेस्ट फर्मास्युटिकल्सको योगदान प्रशंसनीय रहेको बताए।

कस्तो रह्यो क्वेष्टको २५ वर्षे यात्रा ?

प्रवन्ध निर्देशक श्रेष्ठले कम्पनीको २५ वर्षे यात्रा ग्राहक, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, वितरक, व्यावसायिक साझेदार तथा नियामक निकायको विश्वास र सहयोगको परिणाम भएको बताए।

उनले भक्तपुरमा अत्याधुनिक इनोभेसन सेन्टर स्थापना गरी हाल आयातमा निर्भर रहेका केही औषधी स्वदेशमै उत्पादन गर्ने तयारी भइरहेको जानकारी दिए। यसले औषधीमा नेपालको आत्मनिर्भरता थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै उनले २०७२ सालको भूकम्प र कोभिड–१९ महामारीजस्ता कठिन परिस्थितिमा पनि कम्पनीले औषधिको आपूर्ति निरन्तर कायम राखेको स्मरण गरे।

उनले पछिल्लो समय भोटेकोशी बाढी पीडितका लागि कम्पनीका तर्फबाट औषधी, आर्थिक सहयोगका साथै कर्मचारी र सञ्चालकहरुले आफ्नो तलवबाट थप आर्थिक सहयोग गरेको बताएका थिए ।

श्रेष्ठले स्वदेशी औषधी उद्योगले ठूलो परिमाणमा आयात प्रतिस्थापन गरिरहेको भए पनि उद्योग प्रवर्द्धन, औषधीको मूल्य समायोजन तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने स्पष्ट सरकारी नीति आवश्यक रहेको बताए। आगामी दिनमा अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय गुणस्तरलाई थप सुदृढ बनाउँदै उत्पादन क्षमता विस्तार गर्ने कम्पनीको लक्ष्य रहेको उनको भनाइ थियो।

उनले उद्योगीहरूले उठाएका नीतिगत सुधारका माग जायज रहेको उल्लेख गर्दै उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जना गर्ने उद्योगलाई सरकारले प्राथमिकतामा राखेको बताए। नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुने क्रममा औषधी उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर, बौद्धिक सम्पत्ति अधिकार तथा प्रयोगशाला मान्यता (एक्रेडिटेसन) जस्ता विषयमा क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले राष्ट्रिय एक्रेडिटेसन प्रणाली सुदृढ बनाउनुपर्नेमा जोड दिए। सरकारको भूमिका नीतिगत व्यवस्था, नियमन र पूर्वाधार विकासमा केन्द्रित रहने तथा उद्योग सञ्चालनको नेतृत्व निजी क्षेत्रले नै गर्ने उनको भनाइ थियो।

समारोहमा कम्पनीका अध्यक्ष शंकर दास श्रेष्ठ, निर्देशकहरु पृथ्वी राजभण्डारी (निजु), शैलेन्द्र प्रसाद वर्मा र उत्तमकुमार श्रेष्ठले कम्पनीको सफलताको श्रेय संस्थापक, कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, ग्राहक, वितरक तथा व्यावसायिक साझेदारलाई दिँदै आगामी दिनमा पनि गुणस्तरीय औषधी उत्पादन, अनुसन्धान, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत नेपालको स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

एसोसियट डाइरेक्टर असिम राजभण्डारीले २५ वर्षको सफल यात्रा कम्पनीप्रति ग्राहक, चिकित्सक, कर्मचारी र व्यावसायिक साझेदारले देखाएको विश्वासको प्रतिफल भएको बताए। उनले नयाँ पुस्ताले अनुसन्धान, डिजिटल रूपान्तरण र नवप्रवर्तनलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय औषधी उत्पादनमार्फत नेपालको औषधी उद्योगलाई अझ प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने दिशामा काम गरिरहेको उल्लेख गरे।

क्वेष्टका उपाध्यक्ष सुरेन्द्र वतास, डा कमलेसदत्त लगायतले क्वेष्टको ऐतिहासिक मार्ग चित्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ वीरगञ्जका अध्यक्ष हरि गौतम लगायतका उद्योगीहरुले उद्योगका लागि राज्यले बातावरण तयार गरिदिनु पर्ने आग्रह गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *