नेपाल कोर एफएचआईआर कार्यान्वयन निर्देशिका स्वीकृत

काठमाडौं / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल कोर एफएचआईआर कार्यान्वयन निर्देशिका (NP Core FHIR Implementation Guide) को संस्करण १.०.० स्वीकृत गरी लागू गरेको छ।
निर्देशिकाले नेपालका स्वास्थ्य संस्थामा सञ्चालनमा रहेका विद्युतीय चिकित्सा अभिलेख (EMR)तथा अस्पताल सूचना प्रणालीमा बिरामीको स्वास्थ्यसम्बन्धी विवरण भण्डारण तथा एक–आपसमा आदानप्रदान गर्ने साझा राष्ट्रिय मापदण्ड निर्धारण गरेको छ।
निर्देशिकाले बिरामी, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, रोग, प्रयोगशाला, औषधि, खोप तथा प्रेषणलगायत स्वास्थ्यसम्बन्धी विवरणको ढाँचामा एकरूपता कायम गर्ने आधार तय गरेको छ।
यससँगै विभिन्न स्वास्थ्य संस्थामा प्रयोग भइरहेका विद्युतीय चिकित्सा अभिलेख प्रणालीबीच अन्तरसञ्चालनयोग्यता (Interoperability) कायम गर्न राष्ट्रिय आधार तयार भएको मन्त्रालयले जनाएको छ।
निर्देशिका पूर्ण रूपमा कार्यान्वयनमा आएपछि नागरिकको स्वास्थ्यसम्बन्धी विवरण विभिन्न स्वास्थ्य संस्थामा छरिएर रहने अवस्थालाई कम गर्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाबीच सूचना आदानप्रदान गर्न सहज हुने मन्त्रालयले जनाएको छ।
बिरामी एक स्वास्थ्य संस्थाबाट अर्कोमा प्रेषण हुँदा यसअघि गरिएको उपचारको विवरणसमेत उपलब्ध हुने, एउटै स्वास्थ्य परीक्षण पटक-पटक गर्नुपर्ने अवस्था घट्ने, स्वास्थ्य बीमाको दाबी प्रशोधनमा सहजता हुने तथा राष्ट्रियस्तरमा गुणस्तरीय र तुलनायोग्य स्वास्थ्य तथ्याङ्क प्राप्त गर्न सहयोग पुग्ने मन्त्रालयको भनाइ छ।
मन्त्रालयले उक्त निर्देशिका विद्युतीय माध्यमबाट सम्पूर्ण स्वास्थ्य संस्था, स्वास्थ्य सेवा प्रदायक, शैक्षिक तथा अनुसन्धान संस्था र अन्य सरोकारवालाका लागि सार्वजनिक गरेको छ।
निर्देशिका मन्त्रालयको वेबसाइट https://fhir.digitalhealth.gov.np/core/ मा उपलब्ध रहेको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


