विद्यालय तहको पाठ्यक्रममा मुख स्वास्थ्य सम्वन्धी विषय समावेश गर्न शिक्षा मन्त्रीसमक्ष अनुरोध

काठमाडौँ, १४ असोज । नेपाल डेन्टल एसोसिएसन (एनडीए)ले विद्यालय तहको पाठ्यक्रममा मुख स्वास्थ्य सम्वन्धी विषय समावेश गर्न सरकारसमक्ष अनुरोध गरेको छ ।
मंगलबार एसोसिएसनको अध्यक्ष डा. अजयकुमार साहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसंग भेट गरी यस्तो अनुरोध गरेको हो ।
सो क्रममा विद्यालय तह देखि नै मुख स्वास्थ्यको महत्व, दाँत तथा मुख स्वास्थ्य सम्वन्धी सामान्य रोगहरु, तिनको रोकथाम, मुखको सरसफाईका सही अभ्यास तथा स्वस्थ जीवनशैलीका विषयमा विद्यार्थीहरुलाई शिक्षित गरिनुपर्ने विषयमा जोड दिइएको थियो ।
डा साहले सानै उमेर देखि सही ज्ञान, सीप र स्वस्थ बानीको विकास गर्न सके भविस्यमा मुख तथा दन्त स्वास्थ्य सम्वन्धी धेरै समस्याहरु न्युनिकरण गर्न सकिने भन्दै शरीर स्वास्थ्यका लागि शरीरको प्रवेशद्धारको रुपमा लिईने मुख तथा दन्त स्वास्थ्यको महत्व निकै बढी भएको बताए ।
एसोसिएसनले मन्त्री पोखरेल समक्ष पाठ्यक्रम निर्माण तथा सम्वन्धित शैक्षिक सामग्री विकासमा आफूहरुले प्राविधिक सहयोग गर्न सक्ने प्रतिवद्धतासहितको पत्र समेत बुझाएको छ ।
सो अवसरमा दन्त क्षेत्रसंग सम्वन्धित समसामयिक समस्या, चुनौती, तथा तिनका समाधानका सम्भावित उपायहरुबारेमा पनि सकारात्मक र रचनात्मक छलफल भएको थियो ।
मन्त्रीसंग भेटघाट तथा छलफलका लागि सहजीकरण एसोसिएसनका सदस्य समेत रहेकी सांसद डा अंकिता ठाकुरले गरेकी थिईन् । प्रतिनिधिमण्डलमा अध्यक्ष डा साहसहित महासचिव प्रदीप भण्डारी, सदस्य डा भुमेश काफ्ले लगायत अन्य केही प्रतिनिधिहरु थिए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



