रुसमा प्लेग आशंका पछि नेपालमा पनि बढाइयो निगरानी

महाशाखा भन्छ, 'अहिलेसम्म प्लेग फैलिएको पुष्टि भएको छैन, चिन्ता लिनु पर्दैन'
0
Shares

काठमाडौं, २० असोज। रुसको इर्कुत्स्क क्षेत्रमा प्लेगको आशंका देखिएपछि नेपालले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य निगरानी बढाएको छ।

तर उता, रुसले भने विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) लाई इर्कुत्स्कमा प्लेगको पुष्टि भएको केस नभेटिएको बताएको छ । मृतकसँग सम्पर्कमा आएका व्यक्तिहरूको परीक्षणमा पनि प्लेग देखिएको छैन।

रुसको इर्कुत्स्कस्थित प्लेग अनुसन्धान संस्थानमा कार्यरत एक महिला कर्मचारीको अज्ञात कारणले मृत्यु भएपछि प्लेगको संक्रमण भएको हुन सक्ने आशंका उत्पन्न भएको थियो। घटनापछि करिब दुई सय जनालाई निगरानी तथा क्वारेन्टिनमा राखेर परीक्षण गरिएको थियो। हालसम्म सम्पर्कमा आएका व्यक्तिमा प्लेग पुष्टि नभएको रुसी अधिकारीहरूले बताएका छन्।

यसैबीच प्लेगको आशंका गरिएको रोगको संक्रामकबारे व्यापक हल्ला फैलिएपछि नेपाल सरकारले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमण हुने सम्वेदनशिलतालाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ ।

तर उसले संगसंगै भनेको पनि छ कि उपलब्ध सूचनाका आधारमा नेपालमा प्लेगको जोखिम अत्यन्त न्यून देखिन्छ । महाशाखाले आज अवेर जारी गरेको सूचनामा रुसबाहिर प्लेग फैलिएको हालसम्मको सूचना नरहेको भन्दै नेपालमा यस विषयमा अनावश्यक चिन्ता वा त्रास लिन आवश्यक नरहेको महाशाखाले स्पष्ट पारेको छ।

सम्भावित अवस्थालाई ध्यानमा राख्दै प्लेगको परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा आवश्यक सुविधा उपलब्ध रहेको महाशाखाले जनाएको छ। नेपालमा प्लेगको उपचारका लागि आवश्यक स्वास्थ्य सेवा पनि उपलब्ध रहेको उसको भनाइ छ।

महाशाखाले आम नागरिकलाई सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट फैलिन सक्ने अपुष्ट सूचनाका आधारमा त्रसित नहुन आग्रह गरेको छ। प्लेगसम्बन्धी जानकारीका लागि आधिकारिक स्वास्थ्य निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न पनि अनुरोध गरिएको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *