अझै पनि एक तिहाई भन्दा बढी नेपाली सुर्तीजन्य पदार्थको कुलतमा : अध्ययन्

काठमाडौं, १९ साउन । नेपालका १५ देखि ६९ वर्ष उमेर समूहका एक तिहाइभन्दा बढी नागरिकले अझै पनि कुनै न कुनै प्रकारका सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेको एक अध्ययनले देखाएको छ।

अध्ययनले पाका उमेरका पुरुष संगै अशिक्षित र आर्थिक रूपमा कमजोर वर्गमा सुर्तीजन्य पदार्थको प्रयोग उल्लेखनीय रूपमा बढी रहेको देखाएको छ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई) का डा. जयकुमार गुरुङको नेतृत्वमा त्रिवि चिकित्सा विज्ञान अध्ययन संस्थान आईओएमका डा. प्रणिल मान सिंह प्रधान, डा. गम्भीर श्रेष्ठ सहित पराशर खड्का, अञ्जना लामिछाने र प्रज्ञान घले सम्मिलित अनुसन्धान टोलीले गरेको अध्ययन  प्रतिवेदन  जर्नल अफ नेपाल मेडिकल एसोसिएसन (जेएनएमए) को पछिल्लो अंकमा प्रकाशित भएको हो।

अध्ययनमा सात वटै प्रदेशका १५ देखि ६९ वर्ष उमेर समूहका १ हजार ५ सय ८७ जना सहभागी थिए । उनीहरुमध्ये ३४.०९ प्रतिशतले हाल पनि कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ प्रयोग बताएका थिए ।

अध्ययनले त्यसमा पुरुषमध्ये ५५.७६ प्रतिशत र महिलामध्ये ११.१५ प्रतिशत सुर्तीजन्य पदार्थ प्रयोगकर्ता रहेको पाइएको थियो ।

धूम्रपानभन्दा बढी धूम्रपानरहित सुर्तीको प्रयोग

अध्ययनअनुसार हाल सुर्तीजन्य पदार्थ प्रयोग गर्नेहरूमध्ये ५५.४५ प्रतिशतले धूम्रपानरहित (स्मोकलेस) सुर्तीजन्य पदार्थ मात्रै प्रयोग गर्ने गरेका छन्।

यस्तै  ३१.४२ प्रतिशतले धूम्रपान मात्रै गर्ने र १३.१२ प्रतिशतले धूम्रपान तथा धूम्रपानरहित दुवै प्रकारका सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ।

यसले नेपालमा चुरोटभन्दा बाहेक खैनी, गुट्खा, जर्दा लगायतका धूम्रपानरहित सुर्तीजन्य पदार्थको प्रयोग पनि ठूलो चुनौती बनेको संकेत गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ।

कर्णालीमा सबैभन्दा बढी, बागमतीमा सबैभन्दा कम

प्रदेशगत रूपमा कर्णालीमा सबैभन्दा बढी ४७.८३ प्रतिशत नागरिकले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ। त्यसपछि कोशी (३८.१५ प्रतिशत), सुदूरपश्चिम (३६.९९ प्रतिशत), मधेश (३६.३४ प्रतिशत), लुम्बिनी (३४.७७ प्रतिशत) र गण्डकी (३१.३४ प्रतिशत) रहेका छन्।

बागमती प्रदेशमा भने सबैभन्दा कम २४.०२ प्रतिशतले मात्रै सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ।

अशिक्षित र आर्थिक रूपमा कमजोर समूह बढी जोखिममा

अध्ययनले ४० वर्षभन्दा माथिका व्यक्तिमा सुर्तीजन्य पदार्थ प्रयोगको सम्भावना युवा उमेर समूहको तुलनामा बढी रहेको देखाएको छ।

त्यस्तै अशिक्षित व्यक्तिमा, पारिश्रमिक नपाउने काम गर्ने व्यक्तिमा तथा तल्लो–मध्यम आर्थिक अवस्थाका परिवारमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने सम्भावना उल्लेखनीय रूपमा बढी रहेको निष्कर्ष निकालिएको छ।

कानुनलाई समर्थन, कार्यान्वयनप्रति असन्तुष्टि

अध्ययनमा सहभागी अधिकांशले सार्वजनिक स्थानमा धूम्रपान निषेध गर्ने कानूनलाई सकारात्मक रुपमा लिएका छन् तर ७५ प्रतिशतभन्दा बढी उत्तरदाताले यसको प्रभावकारी रूपमा कार्यान्वयन नभएको बताएका छन्। सार्वजनिक स्थानमा धूम्रपान गरेको भन्दै कसैलाई जरिवाना गरिएको देखेको बताउनेको संख्या पनि निकै कम रहेको अध्ययनले देखाएको छ।

अनुसन्धानकर्ताहरूले नेपालमा सुर्तीजन्य पदार्थ अझै पनि गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा रहेको उल्लेख गर्दै धूम्रपान र धूम्रपानरहित दुवै प्रकारका सुर्तीजन्य पदार्थलाई लक्षित गरी नियन्त्रणका कार्यक्रम विस्तार गर्न, विद्यमान कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा सुर्ती त्याग (टोबाको सेसेसन) सेवाको पहुँच बढाउन आवश्यक रहेको निष्कर्ष निकालेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *