विराट क्यान्सर इन्स्टिच्युटमा फोक्सोमा हुने क्यान्सरको शल्यक्रिया सेवा सुरु

24
Shares

विराटनगर १७ साउन । विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गत सञ्चालित विराट क्यान्सर इन्स्टिच्युटले पूर्वी नेपालमा पहिलोपटक थोरासिक अन्कोसर्जरी (फोक्सो तथा छातीसम्बन्धी क्यान्सरको शल्यक्रिया) सेवा सुरु गरेको छ।

थोरासिक अन्कोसर्जरी सुरु गरिएसँगै यो सेवाका लागि उपचारका लागि काठमाडौँ तथा विदेश जानुपर्ने बाध्यता अन्त्य भएको अस्पतालले जनाएको छ।

यो सेवाको जिआई–एचपिबी अन्कोसर्जन (पेट, आन्द्रा, कलेजो, पित्तनली र प्याक्रियासको शल्यक्रिया), ब्रेस्ट अन्कोसर्जन (स्तन क्यान्सरको शल्यक्रिया) तथा साइटोरिडक्टिभ एण्ड हाइपेक सर्जन (पेटभित्र फैलिएको जटिल क्यान्सरका लागि विशेष शल्यक्रिया) डा. शिवराज शर्माले प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ।

उनले भारतको टाटा मेडिकल सेन्टर, कोलकाताअन्तर्गतको थोरासिक अन्कोसर्जरी विभाग र चीनको सङ्घाइ पल्मोनरी अस्पतालबाट युनिपोर्टल भ्याट्स एण्ड र्‍याट्ससम्बन्धी प्रतिष्ठित फेलोसिप तालिम सफलतापूर्वक सम्पन्न गरी विराट क्यान्सर इन्स्टिच्युटमा पुनःआफ्नो सेवा सुरु गरेका हुन्।

हस्पिटलमा वरिष्ठ फोक्सो एवं श्वासप्रश्वास तथा निद्रा रोग विशेषज्ञका रूपमा प्राडा पुरु कोइराला र डा रेजिना शाही रहेका छन्।

उक्त सेवा प्रदान गर्ने समूहमा अन्कोसर्जन डा. जगरनाथ चौधरी, अन्कोएनेस्थेसियोलोजिस्ट डा. रुजन बम र अन्कोफिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ रहेका छन्।

फोक्सोको क्यान्सरको शल्यक्रिया दूरबिन (भ्याट्स) प्रविधिबाट गरिने र निकट भविष्यमा रोबोटिक सर्जरीसमेत सुरु गर्ने डा. शर्माले बताए।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *