‘पेन-प्लस’ कार्यक्रम कार्यान्वयन निर्देशिकालाई अन्तिम रुप दिन सरोकारवालासंग छलफल

32
Shares

काठमाडौँ, १४ साउन । बढ्दो क्रममा रहेको नसर्ने रोगको चुनौतीलाई सम्वोधन गर्न सरकारले दुई वर्ष अघि देखि प्याकेज अफ इसेन्सियल नन् कम्युनिकेवल डिजिज इन्टनरभेन्सन प्लस (पेन प्लस) कार्यक्रम सुरु गरेको थियो ।

जिल्ला तहका अस्पतालहरुलाई केन्द्रमा राखेर गम्भीर नसर्ने रोगहरुको एकीकृत गुणस्तरीय तथा दीर्घकालिन सेवा विस्तार गर्ने गरी डिजाइन गरिएको यो कार्यक्रम अहिले देशका ६ वटा अस्पतालमा नमूनाका रुपमा सञ्चालित छन् ।

सरकार सो कार्यक्रमलाई अब थप जिल्लामा विस्तार गर्ने योजनामा छ । त्यहि योजनालाई व्यवस्थित ढंगबाट अघि बढाउन पेन प्लस कार्यक्रम कार्यन्वयन निर्देशिका बन्दैछ ।

बिहीबार स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाको आयोजनामा प्रमुख सरोकारवाला पक्षसंग सोही निर्देशिका (पेन प्लस कार्यक्रम कार्यान्वयन निर्देशिका – २०८३) को मस्यौदामाथि छलफल भयो ।

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) र युनिसेफको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा विज्ञ तथा सरोकारवालाहरुले निर्देशिकाको मस्यौदामा थप घट गर्नु पर्ने विषयमा छलफल गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका डा. यदुचन्द्र घिमिरेले डब्लुएचओ पेन प्याकेज कार्यक्रम देशका ७७ वटै जिल्लामा प्रभावकारी ढंगले सञ्चालन भइसकेपछि यसको विस्तारित रुपमा पेन प्लस कार्यक्रम ल्याइएको बताए । उनले खासगरी जिल्ला तथा प्रदेश तहका अस्पतालहरुमा केन्द्रीत हुने यो कार्यक्रम कार्यान्वयन गर्न कसरी सहजता हुन्छ भनेर निर्देशिका बनाउन खोजिएको र त्यसमा सरोकारवाला पक्षसंग छलफलको आयोजना गरिएको बताए ।

किओचका अध्यक्ष प्राडा भगवान कोइरालाले बढ्दो क्रममा रहेको नसर्ने रोगलाई अब केन्द्रीय अस्पतालहरु होइन जिल्ला अस्पतालले नै थाम्नु पर्ने अवस्था आएको भन्दै सोही अवस्थालाई व्यवहारिक रुपमा उतार्नका लागि पेन प्लस कार्यक्रम ल्याइएको बताए । उनले अहिले ६ वटा अस्पताल चलेको कार्यक्रमले राम्रो नतिजा दिईरहेको भन्दै यसलाई विस्तार छिटै गर्नुपर्ने बताए ।

कार्यक्रममा इडिसिडी अन्तर्गत नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाकी प्रमुख डा पोमावती थापा, किओचकी पेन प्लस कार्यक्रम निर्देशक डा सन्दीपा कार्कीले पेन प्लस कार्यक्रमको अवधारणा सुनाउँदै अहिलेसम्म भइरहेको पेन प्लस कार्यक्रम र अब गर्नु पर्ने कामका बारेमा बताएका थिए ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक सरोज न्यौपाने, स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काले पेन प्लस कार्यक्रमले जिल्ला अस्पतालहरुमा पार्ने प्रभावका बारेमा चर्चा गरेका थिए ।

पोखराका डा डमरु प्रसाद पनेरुले मस्यौदाको अवस्थाबारेमा जानकारी दिएका थिए । कार्यक्रममा जिल्ला तथा प्रादेशिक अस्पतालका प्रमुख सहित विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

अहिलेसम्म पेन प्लस कार्यक्रम दमक अस्पताल झापा, बर्दिया अस्पताल गुलरिया बर्दिया, प्रादेशिक अस्पताल लहान सिराहा, दैलेख जिल्ला अस्पताल दैलेख, बझाङ जिल्ला अस्पताल र गुल्मी अस्पतालमा लागू भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *