तीन महिना पछि बस्यो स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक

108
Shares

काठमाडौं, १३ साउन । सुरक्षाको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आन्दोलन देशव्यापी बनाउन थालेपछि मंगलबार अपरान्ह स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी समन्वय समितिको बैठक बसेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अतिरिक्त स्वास्थ्य सचिव डा संगिता मिश्राको अध्यक्षतामा बैठक बसेको हो ।

यसअघि यो बैठक *बैशाख महिनामा बसेको थियो । नियमावलीमा हरेक दुई दुई महिनामा बैठक बसेर समीक्षा गर्ने भनिएको छ।

मंगलबारको बैठकले अबदेखि नियमित रूपमा बैठक बस्ने निर्णय गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थासँग सम्बन्धित समस्या समयमै समाधान गर्न समन्वयात्मक भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा मङ्गलबार बसेको बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन,२०६६ को दफा ७ बमोजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन हाल सञ्चालनमा रहेको दर्ता तथा नवीकरण प्रणालीलाई सार्वजनिक आह्वानमार्फत अझ प्रभावकारी बनाउने निर्णय गरेको छ।

बैठकले ऐन तथा नियमावलीमा आवश्यक संशोधनका लागि समितिमा आबद्ध सदस्य संस्थाका प्रतिनिधिहरूसँग लिखित सुझाव माग्ने निर्णय पनि गरेको छ। मन्त्रालयले तोकेको इमेलमार्फत सुझाव संकलन गरी ऐन तथा नियमावली संशोधन प्रक्रिया अघि बढाइने जनाइएको छ।

समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालयले छुट्टै डेडिकेटेड इमेल समूह सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त इमेलमार्फत बैठकका एजेन्डा,निर्णय तथा अन्य आवश्यक सूचनाको नियमित आदानप्रदान गरिने बताइएको छ ।

बैठकले हालसम्म भएका कामको समीक्षा,विगतका गतिविधिको दस्तावेजीकरण तथा आगामी कार्ययोजना तयार गर्न तीन सदस्यीय उपसमिति पनि गठन गरेको छ। उपसमितिमा नेपाल मेडिकल काउन्सिलका कार्यवहाक अध्यक्ष  डा. कुन्जाङ शेर्पा, नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष डा. सञ्जिव तिवारी र मन्त्रालयकी रोजिना तण्डुकार सदस्य रहेका छन्।

यसैगरी, समितिको अर्को बैठक एक महिनाभित्र बस्ने निर्णय गरिएको छ। नियमित बैठक सञ्चालनबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विषयमा देखिएका समस्या समयमै सम्बोधन हुने तथा आवश्यक नीतिगत निर्णयहरू प्रभावकारी रूपमा अघि बढ्ने विश्वास समितिले व्यक्त गरेको छ।

शीर्षकमा  *तीन महिना हुनु पर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *