देशव्यापी अभाव भएपछि भारत सरकारद्धारा क्यान्सरबिरुद्ध प्रयोग हुने औषधीको मूल्य बढाउन अनुमति

44
Shares

नयाँ दिल्ली । क्यान्सर उपचारमा व्यापक रूपमा प्रयोग हुने अत्यावश्यक औषधीको देशव्यापी अभाव भएपछि भारत सरकारले ती औषधीको मूल्य बढाउन स्वीकृति दिएको छ।

बुधबार केन्द्रीय सरकारले मूल्यवृद्धिको अनुमति दिएसँगै लामो समयदेखि देखिएको औषधी अभाव कम हुने अपेक्षा गरिएको छ।

भारतको औषधी विभाग (डिपार्टमेन्ट अफ फर्मास्युटिकल्स) ले राष्ट्रिय औषधी मूल्य निर्धारण प्राधिकरण (एनपीपीए) लाई क्यान्सर उपचारमा प्रयोग हुने दुई प्रमुख किमोथेरापी औषधी सिस्प्लाटिन र कार्बोप्लाटिनसहित चार औषधीको मूल्य समायोजन गर्न सैद्धान्तिक स्वीकृति दिएको हो।

यी दुवै औषधी विभिन्न प्रकारका क्यान्सरको उपचारमा पहिलो चरणको किमोथेरापीका रूपमा प्रयोग गरिन्छ। मुख, फोक्सो, स्तन, पाठेघरको मुख, अन्ननली तथा डिम्बाशयको क्यान्सर उपचारमा सिस्प्लाटिन र कार्बोप्लाटिनको व्यापक प्रयोग हुने गर्दछ।

एनपीपीएले औषधीहरुलाई आवश्यक औषधीहरुको सूचीमा राखेको थियो । जो मूल्य नियन्त्रण आदेश २०१३ अन्तर्गत नियन्त्रण गरिन्छ। यो आदेशले यी महत्त्वपूर्ण औषधीहरू उत्पादन गर्ने कम्पनीहरूलाई थोक मूल्यमा भएको वृद्धि अनुसार वर्षमा एक पटक मात्र आफ्नो मूल्य बढाउन अनुमति दिन्छ।

औषधीको अभाव के कारणले भयो ?

इन्डियन एक्सप्रेसले खबरमा अगाडी लेखेको छ, यी औषधीको उत्पादनका लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थ प्लेटिनम हो। पछिल्लो समय पश्चिम एसियामा देखिएको भू–राजनीतिक संकटका कारण अन्तर्राष्ट्रिय बजारमा प्लेटिनमको मूल्य उल्लेखनीय रूपमा बढेको छ। साथै आयात शुल्क वृद्धि र विदेशी मुद्राको विनिमय दरमा आएको उतारचढावले उत्पादन लागत अझ बढाएको छ।

तर यी औषधी भारतमा सरकारी मूल्य नियन्त्रणभित्र पर्ने भएकाले उत्पादक कम्पनीहरूले लागतअनुसार मूल्य बढाउन पाएका थिएनन्। उत्पादन लागत लगातार बढ्दै गएपछि केही कम्पनीहरूले उत्पादन घटाए भने केहीले उत्पादन नै बन्द गरेका थिए । जसका कारण देशभर औषधीको अभाव सिर्जना भएको बताइएको छ।

औषधीको अभावले उपचारमा असर गरेको गुनासो थियो

भारतका विभिन्न क्यान्सर अस्पताल र क्यान्सर रोग विशेषज्ञहरूले लामो समयदेखि सिस्प्लाटिन र कार्बोप्लाटिन बजारमा सहज रूपमा उपलब्ध नभएको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए।

मुम्बईस्थित टाटा मेमोरियल क्यान्सर अस्पतालले समेत यी औषधीको अभावले क्यान्सर बिरामीको उपचार प्रभावित भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो। औषधी अभावका कारण धेरै बिरामी आवश्यक औषधी खोज्दै एक पसलदेखि अर्को पसलसम्म धाउन बाध्य भएका थिए।

अब कति बढ्छ मूल्य ?

औषधी विभागले ठ्याक्कै मूल्य यति बढ्न सक्छ भनेको छैन तर एनएनपीएलाई कच्चा पदार्थको लागतमा भएको वास्तविक वृद्धिको मूल्यांकन गरी सोही आधारमा मूल्य समायोजन गर्न निर्देशन दिएको छ। प्रारम्भिक रूपमा मूल्य १० प्रतिशतदेखि ५० प्रतिशतसम्म बढ्न सक्ने संकेत गरिएको छ।

मूल्यवृद्धि स्वीकृत गरिएका चार फर्मुलेसनमध्ये दुई क्यान्सर उपचारका औषधि र दुई टिटानसविरुद्धका इन्जेक्सन रहेका छन्।
सरकारको यो निर्णयले उत्पादक कम्पनीहरूलाई उत्पादन पुनः बढाउन प्रोत्साहन गर्ने र क्यान्सर बिरामीका लागि अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

यसैबीच, अन्तर मन्त्रालय समितिले मूल्यवृद्धिको माग गरिएका अन्य ७८ औषधीबारे पनि अध्ययन गरिरहेको र आगामी दिनमा थप निर्णय हुन सक्ने बताइएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *